धरान : देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । आज खान छुटेकालाई भोलि खुवाइने छ ।
धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार १० हजार ६ सय ४ जना ६ महिना देखि ५ वर्ष सम्मका बालबालिकालाई भिटामिन ए र १ वर्ष देखि ५ वर्ष सम्मका ९ हजार ४ सय जना बालबालिकाहरुलई जुकाको औषधी खुवाईदैछ ।
आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउन धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले सबै अभिभावकहरूलाई अनुरोध पनि गरेका छन् ।
धरान उपमहानगरको ६० स्थानमा खोप केन्द्र तोकिएको छ भने १ सय ४१ जना महिला स्वास्थ्य स्यंम सेवीका परिचालित गरिएको पनि महाशाखाका प्रमुख मेहेताले जानकारी दिएका छन् ।
सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर यस वर्ष कोरोना महामारीका कारण दोस्रो चरणको कार्यक्रम असार २२ र २३ गते तय गरिएको स्वास्थ्य सेवा विभाग, पोषण शाखाले जनाएको छ ।
बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ । जुकाको औषधि एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिएको छ ।
छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालबाट भिटामिन ए कार्यक्रम सन्चालन गर्दै आएको हो ।
यस्तै १५ बहुसूक्ष्म पोषण तत्वले बनेको बालभिटा छ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ । बालभिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ ।