धरान : इलाम जिल्लाको देउमाइ नगरपालिका वडानं. १ निवासी कल्पना देवी पाण्डेले आफ्नो घरमा भाडामा रहेको एनएमवि लघु वित्तीय संस्था लिमिटेडलाई असार महिनाको घर भाडामा छुट दिएका छन् ।

आफू आफै क्यान्सर रोगबाट पीडित पाण्डेले लकडाउनको बेलामा एनएमवि लघु वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय राँके इलामलाई घर भाडामा छुट दिएको शाखाका प्रबन्धक तीर्थराज राईले जानकारी दिएका छन् ।

आफूलाई व्यक्तिगत रूपमा परेको सङ्कट ठुलो हुन्छ तर त्यसको विपरीत अरूलाई सहयोग गर्न निकै ठुलो मन चाहिन्छ, पाण्डे परिवारको यस कार्यको प्रसंशागर्दै प्रबन्धक राईले उहाँहरूलाई परेको सङ्कटबाट चाडै छुटकारा मिलोस् भन्दै यस्ता मनकारीहरूको सबैले शीघ्र लाभको कामना गर्नु पर्ने”बताएका छन् ।

यसै गरी एनएमवि लघु वित्तकै अर्को इलाम जिल्ला इलाम नगरपालिका वडा न ५ विव्ल्याटेमा रहेको शाखा तथा अनुगमन कार्यालयको घर धनी दुर्गा देवी घिमिरेले संस्थाको यस प्रतिकूल समयमा आफूले साथ दिने भन्दै असार महिनाको घर भाडा नलिएको उक्त शाखाका प्रमुख रोशन तिमिल्सिनाले जानकारी दिएका छन् ।

चैत्र ११, २०७६ बाट सुरु भएको लकडाउनका कारण वित्तीय संस्थाहरू पनि त्यसको प्रत्यक्ष मारमा परेका छन् । यस परिस्थितिमा ग्राहक सदस्यहरूलाई परेको असरलाई मनन गर्दै एनएमवि लघु वित्त वित्तीय संस्था लि.ले आफ्ना ग्राहक सदस्यहरूलाई वैशाख महिनादेखि ३ प्रतिशत व्याज सहुलियत दिँदै आएको छ । यो संस्थाको केन्द्रीय कार्यालय पोखरा–२५, हेम्जा कास्कीमा रहेको छ ।