धरान : मेयर तिलक राईको बेरुजुको सन्दर्भमा आएको समाचारको खण्डन गर्दै नेपाली काँग्रेस धरान उपमहानगर कार्यसमितिले विज्ञप्ति जारी गरेको छ । धरान काँग्रेसले काँग्रेसबाट निर्वाचित मेयर तिलक राईको नाममा मात्र बेरुजु छ भन्ने आशयले आएको समाचारलाई खण्डन गर्दै विज्ञप्ति निकालेको हो ।
उपमहानगरपालिकामा पञ्चायत काल देखि हालसम्म विभिन्न व्यक्तिहरुको बेरुजु फर्छ्यौट नभएको बताउँदै तिलक राईको नाम मात्र उल्लेख गरेर समाचार निकालेको भन्दै भ्रम फैलाउन खोजेको आरोप काँग्रेसले लगाएको छ ।
विज्ञप्तिमा भनिएको छ 'यथेष्ट प्रमाणहरू हुँदा हुदैपनि गत असार २५ गते बिहीबार धरानको एक स्थानीय पत्रिकामा बेरुजु सम्बन्धी नियोजित ढङ्गले भखरै निर्वाचित भएका धरान उपमहानगरपालिकाका प्रमुख एवं नेपाली काँग्रेस धरानका सभापति तिलक राईको नाममा मात्र बेरुजु छ भन्ने पूर्वाग्रही ढङ्गले प्रकाशित समाचारले जनतामा भ्रम फैलाउन खोजिएको हामीले महसुस गरेका छौ ।'
तिलक राईको नाममा बेरुजु भनिएको २ लाख ४१ हजार ५ सय रुपैयाँ बुद्ध चौक निमार्ण तथा बुद्ध प्रतिमा अनावरण गरेको काँग्रेसले जनाएको छ । तिलक राईको अध्यक्षतामा भएको उपभोक्ता समितिले २०६० सालमै बुद्ध चौक क्षेत्र विकासको क्रममा चोक विस्तार, ड्रेन, फुटपाथ र पिचको काम सम्पन्न भएको काँग्रेसको दाबी छ ।
वडाको स्थानीयवासी साथै सो उपभोक्ता समितिले गरेको माइन्यूट अनुसार निमार्ण कार्य सम्पन्न बताउँदै काँग्रेसले निमार्ण कार्यको लागि फर्छ्यौट हुनुपर्नेमा नगरपालिकाको प्राविधिक कारणबाट यस्तो बेरुजु हुन् गएको स्पष्टीकरण काँग्रेसले दिएको छ ।
सबै बेरुजुको छानबिन हुनुपर्छ : काँग्रेस
तिलक राईको मात्र बेरुजु नभएको अन्यको व्यक्तिहरूको समेत बेरुजु भएको विषयमा छानबिन हुनु पर्ने काँग्रेसले माग गरेको छ । उपमहानगर सँग जोडिएर काम गर्ने धेरै व्यक्तिहरूको बेरुजु रहेको जनाउँदै काँग्रेसले बेरुजुको विषयमा थप छानबिन गर्न माग गरेको हो ।
विज्ञप्तिमा भनिएको 'विभिन्न दलबाट निर्वाचित व्यक्तिहरू लगायतको नाममा अझै पनि दलका हालका निर्वाचित वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू साथै नगरपालिकाका बहालवाला कर्मचारीहरू लगायतका गरी करोडौँ रकम बेरुजु रहेको र प्रजातन्त्र लोकतन्त्रको स्थापना पश्चात् र गत मङ्सिरको उपनिर्वाचन भन्दा अगाडि एउटै दलले धरानमा नेतृत्व गरी रहँदा समेत बेरुजु उठाउन कुनै पहल नगरिएकोले यस विषयमा गम्भीर छानबिन गरी सबै खाले बेरुजु तथा बाकी बक्यौताहरू उठाउन एवं फर्छ्यौट गर्न गराउन धरान उपमहानगरपालिका लाई नेपाली काँग्रेसले जोडदार माग गरेको छ ।'

 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        