झापा : झापाको बिर्तामोडमा रहेको यातायात व्यवस्था कार्यालय झापाले ३५ हजार स्मार्ट लाइसेन्स वितरण गरेको छ ।

सरकारले सवारी चालक अनुमति पत्रलाई स्मार्ट कार्डका रूपमा अनिवार्य गरेपछि पूर्वका चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङका गरी ३५ हजार एक सय २८ वटा स्मार्ट कार्ड वितरण गरिएको कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने मेसिन थोरै भएकाले सीमित सङ्ख्यामा मात्रै स्मार्ट लाइसेन्स आउने गरेकाले समस्या भएको उनको भनाइ छ । पौडेलका अनुसार अझै ४० प्रतिशत सवारी चालकले चिटको भरमा सवारी सञ्चालन गर्दै आएका छन् ।

कोरोना भाइरसका कारण हाल नयाँ आवेदन लिने काम बन्द भएकाले यातायात कार्यालयमा आउन बाँकी पुराना लाइसेन्सहरू धमाधम प्रिन्ट हुने क्रममा रहेको कार्यालय प्रमुख पौडेलले जानकारी दिए । लक डाउनको समयमा १४ हजारको स्मार्ट लाइसेन्स आएको पौडेलले जानकारी दिए ।

पूर्वका चार जिल्लामा एक लाख ४० हजार ७ सय ७७ वटा सवारी दर्ता छन् । जसमध्ये सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी रहेको कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।

उनका अनुसार दुई पाङ्ग्रे सवारी मोटरसाइकल र स्कुटरको सङ्ख्या एक लाख १३ हजार छ । यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०७६/०७७ मा ५२ करोड ८५ लाख ८१ हजार ५ सय ९४ रुपैयाँ ९० पैसा राजश्व सङ्कलन गर्न सफल भएको पौडेलले जानकारी दिए ।

कोरोना भाइरसका कारण जोखिम बढे पनि यातायात कार्यालयले आवश्यक सुरक्षा मापदण्ड अपनाएर सेवा प्रवाह गरिरहेको कार्यालय प्रमुख पौडेलको भनाइ छ