एक माईलको बाटो जस्तो -
एक धर्सो सिउँदो खालि छ ।
साहिला !आऊ भरिदेऊ याे खालि सिउँदोमा
एउटा नयाँ सभ्यताको परिवर्तित रङ्ग ।
तिम्रा बलिष्ठ हातहरूले सिउने
कयौँ छुतहरूको लाज ढाकेर
आजसम्म तिमी अछुतको अर्धचेतनामा नाङ्गो भयौ ।
मलाइ -
जूनको उज्यालोमा फिजाई रहने चेतनाको बिस्कुनहरू ओछाएर
तिमीलाई तिम्रै अनुहार देखाउन मन छ
र प्रेमले थपथपाएर तिम्रै आदिम समयको कथा सुनाउँदै
तिम्रा उर्भर हातका औँलाहरू चलाउन मन छ
तिम्राे झाेल्लिएका गाला बेस्सरी चिमोटेर
तिमीलाई तिम्रै दासत्वबाट ब्युँझाउन मन छ ।
साहिला !
म घामको एक टुक्रा बटुलेर
तिमीलाई एक अञ्जुली उज्यालो दिन चहान्छु
के तिमी आफ्नै जीवन पढन सक्छौ ?
तिमीलाई नै गिज्जाईरहने दासत्वको भित्तामा
अडेस लागेर मैले सिकाउने प्रेमको लयमा
आफ्नो आवाज भर्न सक्छौ ?
म त्यहि बहादुर क्षेत्री कि छोरी हुँ
जसले तिम्रा पवित्र पौरख गर्ने हातहरूलाई पर राख्यो
मन्दिरहरूमा - तिम्रै शिल्पले बनाएको त्रिशुल राख्यो
खुट्टाहरूलाई - दैलोसम्म टेक्न दिएन
पानी पँधेरो आफ्नै पुर्खाको विर्ता सम्झियो
तर तिमीलाई पत्तै भएन
जदाै गर्दागर्दै जमिनमुनि आफै दबिएकाे
साहिला !
हेर त ! बर्षाैँ भैसकेकाे छ चाेली उध्रिएकाे
मेरालागि त्यहि हातले सिलाई देऊ एकजोर कपडा
जुन कपडाले मेराे देखिएकाे लाज छाेपियाेस्
र ढाकियाेस् यो समाजको कालो कुरुप अनुहार ।
- जात,
- धर्म,
- नियम,
- कानुन,
र सिद्धान्त
यि सबै भन्दामाथि उठेर
मैले तिम्रो अस्तित्वलाई प्रेम गरेकाे हुँ ।
म पृथ्वी हुँ तिमी आकाश हौ
बर्षिदेऊ पानीझैँ - तमाम युगको पिडा भुलेर
हामीले मान्छेबाट अर्को नयाँ पुस्ताको जन्म दिऔँ ता कि !
- ब्राह्मण,
- शुद्र,
- क्षेत्री
र मङ्गोल कोहि नहोस्
मात्रै याे पृथ्वीमा सिङ्गो मानव सभ्याता होस् ।