वास्तवमा, युवाहरू नै राष्ट्रको परिवर्तनगामी शक्ति हुन्। त्याग, निष्ठा, बलिदान र नवनिर्माणको सुन्दर भावनाद्वारा प्रतिबद्ध युवाहरू राष्ट्रको अमुल्य निधि एवम् उदीयमान शक्ति मानिन्छ । युवाहरू स्वभावैले विद्रोही हुन्छन्। उनीहरूको नशा नशामा क्रान्तिकारी परिवर्तनको नवीन ऊर्जाहरू सल्बलाईरहेको हुन्छ । विश्व सर्वहारा वर्गका महान् गुरु मार्क्सले युवाहरू हो जिते संसार छ, हारे केही पनि छैन भनेर जित्नका लागि संसारभरका युवा वर्गमा आव्हान गरेका थिए ।
यो यथार्थता बहुसङ्ख्यक श्रमजीवी किसान मजदुरहरूले भरिएको नेपालका श्रमिकका सन्तति युवाहरूको सन्दर्भमा उत्तिकै सान्दर्भिक थियो, छ र रहिरहने छ । युवाहरू यथास्थितिबाट आफू र आफ्नो समाजमा मुक्ति दिँदै सामाजिक रूपान्तरणको महाअभियानमा समेत युवा वर्गले अग्रिम भूमिका निर्वाह गरिरहेका हुन्छन्। विगतदेखि वर्तमानसम्म आइपुग्दा जनमुक्ति जनजीविका अनि राज्य स्वाधीनताका लागि निरङ्कुश शासनका दानवीय छायालाई परास्त गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विशाल राजमार्ग निर्माण गर्ने कार्यमा नेपाली युवाहरूले प्रदर्शन गरेको वीरता विश्वकै लागि अनुपम एवम् ऐतिहासिक सन्देश बन्न पुगेको थियो ।
तर पछिल्लो समय भ्रष्ट खेल, क्रूर उपेक्षामाथि खुराफात र पाखण्डको परम नमुनासँग राष्ट्रको शक्ति एवं सत्ताको मञ्चमाथि यस्ता कुरूप नाटक प्रदर्शन भएका छन् । यसले जनताको बौद्धिकता अपमानित भएको छ । आँत थाकेको छ । नेपाली राजनीतिलाई फनक्क फर्केर यो नाटक बहिष्कार गरिदिऊँ या यसका पुरै पात्र फेरेर नयाँ कथा रोजूँ । तर नेपालीको दुर्भाग्य राजनीतिक मञ्चमा विफलता र भ्रष्टताले आ-आफ्नै रङ-रङका तमासा दोर्होयाइसकेका छन् ।
इतिहासमा असफल सिद्ध तिनै लम्पट नेतृत्वहरूप्रति बिना सर्त निकै लामो सङ्घर्ष र बलिदानी गरेर आएका लाखौँ कार्यकर्ताहरू मलामी जान तयार भई रहे। नेपाली राजनीतिको दुर्भाग्य, सबै राजनीतिक गतिविधिको अगाडि युवापंक्ति मूकदर्शक बनिरह्यो। अझ बिशेषत: यिनका मातृ पार्टी सम्बद्ध भातृ सङ्गठनहरू विद्यार्थी आन्दोलन सधैँ प्रतिपक्षी आन्दोलन हुनुपर्ने अवस्था रहेको छ । करिब ४० प्रतिशत युवा शक्ति रहेको नेपालबाट बर्सेनि लाखौँ युवा रोजगार, शिक्षालगायत भविष्यका सुनौलो सपनाको खोजीमा विदेश गइरहेका छन् भने कतिपय युवाहरू विदेशमा नै पलायन भइरहेको यथार्थता हामीमाझ छ ।
भारततर्फको खुला सिमानामा त झन् बर्सेनि लाखौँ युवा मजदुरीका लागि भारतका विभिन्न सहरहरू निम्न स्तरको काम गर्न गइरहेका छन् । विदेशी बजारमा सस्तो मूल्यमा श्रम बेच्न बाध्य युवा वैदेशिक रोजगारका नाममा ठगीइरहेका छन् । नेपाली युवाको श्रमका साथसाथै रकम दुवै बाहिरिइरहेको छ । हाम्रा मुलुकका करिब ७५ देखि ८० प्रतिशत युवा जनशक्ति बाहिरिइरहेको अवस्था छ ।
राष्ट्रको आमूल परिवर्तनकालागि गरिनुपर्ने राजनीति आज अधिकांश युवा वर्गको वितृष्णाको केन्द्र बनेको छ । बदनाम राजनीतिज्ञहरूको नाम लिई गाली गलौच गर्ने सामाजिक सञ्जालमा होहल्ला गर्ने, राजनैतिक घटना क्रमहरूको अपव्याख्या गर्ने, युवा माझ नकारात्मक चिन्तनको विकास गराउने र आफू राजनीतिमा स्थापित हुन खोज्ने जमात ठुलै छ ।
उसको मानसपटलमा यस्ता नकारात्मक चिन्तनहरू भरिएका हुन्छन् र उसलाई कसैले बुझाउन खोज्दा पनि ऊ बुझ्दैन । राजनीति थोर बहुत बुझ्नका लागि पनि इतिहास देखि वर्तमान सम्मको राजनीतिक घटनाक्रमहरूको ज्ञान हुनुपर्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने कतिपय युवा वर्गलाई त राजनैतिक विषयमा कमसेकम ज्ञान पनि हुँदैन तर चर्को स्वरमा राजनीतिज्ञलाई गालीगलौज गर्ने र सामाजिक सञ्जालमा अनावश्यक ट्रोलहरु बनाउनेमा उनै अग्र पङ्क्तिमा पर्छ ।
अधिकांश यस्ता कुराहरू कसैको स्वार्थ पुरा गर्न बनाइएका प्रायोजित र कपोकल्पित कुरा हुन्छन् । चेतना नै नभएपछि यस्ता कुरा बुझ्ने त कुरै भएन । राणा शासन देखि सङ्घीय गणतन्त्र सम्मको यात्रा तय गरिसकेको हाम्रो देश यिनै व्यवस्था परिवर्तनका लागि कैयौँले बलिदान दिएका छन् । यस क्रममा विभिन्न आन्तरिक युद्धहरू भए राष्ट्रले ठुलो नोक्सानी भोग्नुपर्यो । अस्थिरताको भुमरीमा मुलुक फस्न पुग्यो । आज आएर मुलुकले केही हदसम्म स्थिरताका पाएको छ । अब हामीले अग्रगामी छलाङ मान्नुपर्छ आजको युवा पिँढी यस्ता झिना मसिना कुरामा अल्झिएर हुँदैन राजनीतिक नेतृत्वसँग युवा वर्गको टाढिँदै गएको सम्बन्धले अर्को दुर्घटना ननिम्त्याउला भन्न सकिँदैन । सम्बन्ध नजिक होस् पनि कसरी हिजो चप्पल पड्काएर सिंहदरबार छिरेका नेताहरूको रहनसहन देख्दा कसलाई चित्त बुझ्दो हो ।
आजको युवाको अवस्था यस्तो भएको छ कि विज्ञ विद्वानका कुरा नकारेर comedian का कुरा मार्केटमा रुचाइन थालिइएको छ । चरम चाकरीमा टिकेको नेपाली राजनीति यसको मुख्य कारण हो । यहाँ हरेक नागरिक आफ्नो स्वार्थका लागि काँग्रेस, कम्युनिस्ट, राजावादी, राज्य विरोधी, अभियन्ता आदि बन्छन् (अपवादलाई छोडेर) । यहाँ विचारको त कुरै नगरौँ शीर्षनेताहरुले नै अचार बनाएर खाइसके । कार्यकर्तालाई त के थाहा के कम्युनिस्ट ? के काँग्रेस ? आफ्नो स्वार्थ पुरा गर्न पाए पुग्यो । हुन त सबैको बाध्यता हुन्छ यसबाट कोही पनि उम्कन सक्दैन भन्छन्, मेरो पनि बुझाइ यस्तै छ ।
अब युवा चेतनशील हुन जरुरी छ र राजनीतिबाट पर भागेर मुलुकलाई झन् दुर्घटनामा धकेल्ने काम गर्नु हुँदैन । यसलाई हस्तक्षेप गर्ने रलगलत प्रवृति भएका व्यक्तिहरूलाई स्थान नदिने आज यो कुरा युवाले नबुझ्दा भोलि त्यही गलत प्रवृति मानिसले स्थान पाउँछन् र मुलुक दुर्घटनामा पर्ने जोखिम झनै बढेर जान्छ । गाउँ बस्ती, टोल सबैतिरबाट ऊर्जाशील युवाहरू जाग्ने बेला आएको छ । चाकडी गर्न छोडेर नेतृत्वलाई खबरदारी दिन जरुरी छ ।
शीर्ष नेताहरूलाई सम्झाउने कोही नभएर पनि आफ्नो बाटो भुलेका हुन सक्छन् उहाँहरूले व्यवस्था परिवर्तनका लागि ठुलो बलिदान, त्याग र तपस्या गर्नुभएको छ यसलाई हामीले कदापि भुल्नु भने हुँदैन । हरेकले आफूमा राजनीतिक चेतनाको विकास गर्नुपर्छ । आफ्नो स्वार्थमा लिप्त कदापि हुन हुँदैन ।अभिभावकहरूले पनि आफ्ना सन्ततिलाई राजनीतिक चेतना दिन जरुरी छ ।
जस्तोसुकै परिबन्धमा परियोस् गलत प्रवृत्तिको डटेर प्रतिक्रिया गर्नुपर्छ । यद्यपि जबसम्म परिबन्धमा परिँदैन तबसम्म यस्ता क्रान्तिकारी कुरा गरिन्छ र भोलि जालमा फसेपछि गलत गन्तव्य समात्न बाध्य भइन्छ कि भन्ने डर सबैमा छ ।
सम्पूर्ण युवाहरूलाई म यो कुरा अवगत गराउन चाहन्छु कि, मण्डेला, ओबामा, गान्धी, बुद्ध, जनक, आइन्स्टाइन, वीपी, गणेशमान, केपी, जीपी, प्रचण्ड, बाबुराम, मदन, मनोमोहन सबैले आ-आफ्नो युवा अवस्थामा गरेको ऐतिहासिक कार्यबाट आज विश्व आश्चर्यचकित मात्रै होइन लाभान्वित समेत भएको छ । त्यसैले आउनुस्, हामी पनि युवा अवस्थामा केही रचनात्मक काम गरौँ ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































