विश्वभरमा नै मानसिक स्वास्थ्य समस्या जटिल र चुनौती पूर्ण बन्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा ४५ करोड मानिस यस समस्याबाट प्रभावित छन् ।
नेपालमा पनि ६० लाख भन्दा बढी नेपालीहरू कुनै न कुनै किसिमको मनोसामाजिक समस्या एवं मानसिक रोगबाट प्रभावित भएको अनुमान गरिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै मात्र सार्वजनिक गरेको मानसिक स्वास्थ्य सर्वेक्षणमा ४.३ प्रतिशत वयस्कहरूमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ। सर्वेक्षणले १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्यामा रहेको देखाएको छ। सर्वेक्षणमा किशोर किशोरीमा मानसिक स्वास्थ्यको अवस्था हेर्दा ५ दशमलव २ प्रतिशत किशोर किशोरीमा मानसिक समस्या भएको पाइएको छ।
मानसिक स्वास्थ्यका विषयमा जनचेतना फैलाउने, यस क्षेत्रमा भएका समस्या, चुनौती एवं उपलब्धिका विषयमा छलफल तथा पैरवी गर्ने जस्ता विविध उद्देश्यका साथ प्रत्येक वर्ष १० अक्टुबरका दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै अइरहेको छ ।
विश्व मानसिक स्वास्थ्य सङ्घको अगुवाइमा सन् १९९२ देखि विश्व भरि नै यो दिवस मनाउन थालिएको हो । यो वर्षको विश्व मानसिक दिवसको नारा 'सबैको लागि मानसिक स्वास्थ्य : पर्याप्त लगानी, व्यापक पहुँच । जसलाई पनि , जहाँ पनि' रहेको छ ।
नेपालमा मानसिक स्वास्थ्यको अवस्था
नेपालमा मानसिक स्वास्थ्यको क्षेत्र अझै पनि ओझेलमा परेको छ । मानसिक रोगीलाई अपहेलन गर्ने, उपचारबाट वञ्चित गराउने, बाँधेर वा थुनेर राख्ने, खान नदिने, काम र जिम्मेवारी तथा अधिकारबाट वञ्चित गराउने, भूत-प्रेत वा बोक्सी लाग्यो भनेर उपचारको नाममा तातो पन्युँले डाम्ने जस्ता अमानवीय व्यवहार गर्ने गरेको समेत देखिन्छ ।
हाम्रो समाजमा मानसिक स्वास्थ्य प्रति व्यक्तिको बुझाई, धारणा, सोच बिचार अझै पनि सकारात्मक हुन सकेको छैन। मानसिक स्वास्थ्यलाई कलङ्कको रूपमा हेरिन्छ। मानसिक स्वास्थ्य समस्या देखा पर्दा कुल बिग्रेको, देउता चढेको, माता चढेको, बोक्सी लागेको, धामी उत्रेको भन्दै नजर अन्दाज गर्ने परिपाटी हाम्रो समाजमा अझै पनि विद्यमान रहेको छ ।
जैविक- रासायनिक, सामाजिक एव मनोवैज्ञानिक कारणले मानसिक समस्या देखा पर्ने गर्छ । 
बदलिँदो सामाजिक परिवेश, वैदेशिक रोजगारी, बेरोजगारी, गरिबी, आधुनिकीकरण, सामाजिक सञ्जालको प्रभाव, लागूपदार्थको सेवन, पारिवारिक झमेला, लैङ्गिक हिंसा, घरेलु हिंसा, यौन शोषण, बलात्कार, लाञ्छना, लैङिगक विभेद, अन्धविश्वास , गलत प्रथा, राजनीतिक अस्थिरता जस्ता कारण तत्वले नेपालमा पनि मानसिक स्वास्थ्य समस्या बढ्दै गएको देखिन्छ ।
शिक्षा- चेतनाको कमी, मानसिक स्वास्थ्यका क्षेत्रमा विद्यमान अन्धविश्वास, दक्ष जनशक्तिको कमी, सरकारी उपेक्षा, बजेटको कमी, दातृ निकायको यस क्षेत्रमा आँखा पर्न नसक्नु, राष्ट्रिय मानसिक स्वास्थ्य नीति नहुनु, जस्ता कारणबाट मानसिक स्वास्थ्यको क्षेत्रमा सोचे जस्तो प्रगति हुन सकेको छैन ।
नेपालमा विद्यालय तहमा मानसिक स्वास्थ्यका विषयमा अझै पनि पठन पाठन हुन सकिरहेको छैन।
यथापी हालै मात्र प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले विद्यालय स्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई समेट्न सरकारलाई निर्देशन दिएको ।
नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा पर्याप्त लगानी हुन सकिरहेको छैन । 
मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने मनोचिकित्सक, मनोविद् , परामर्शदाता, सामाजिक कार्यकर्ता , साइक्याट्रिक्स नर्स जस्ता जनशक्ति अत्यन्तै न्यून छन् । जति पनि जनशक्ति छन् ती पनि सहर केन्द्रित मात्र छन् । दूर दराज र स्थानीय तह सम्म यसको पहुँच पुग्न सकिरहेको छैन । 
नेपाल जस्तो विकासोन्मुख देशमा त ५ जना मानसिक रोगी मध्ये ४ जनाले उपचार नै नपाउने अवस्था रहेको छ ।
कोरोनाको कहरले निम्त्याएको मानसिक स्वास्थ्य समस्या 
कोरोनाको प्रकोपले विश्व नै अहिले आक्रान्त बनेको छ । कोरोना भाइरसको महामारीले विश्वव्यापी रूपमा गम्भीर मनोसामाजिक असर सिर्जना गरेको छ।
महामारी सुरु भएपछि मानसिक स्वास्थ्य सेवाको माग अत्यधिक बढेको छ। आफन्तसँगको वियोग, आइसोलेसन, आयमा भएको ह्रास र त्रासका कारण मानसिक स्वास्थ्य प्रभावित भएको छ। कतिपय मानिसहरू अत्यधिक मदिरापान, लागु औषध सेवन, अनिद्रा तथा छटपटी जस्ता समस्याले प्रभावित भएका छन् । 
कोभिड-१९ले विश्वको ९३ प्रतिशत राष्ट्रमा सघन मानसिक स्वास्थ्य सेवा अवरुद्ध भएको विश्व स्वास्थ्य सङ्गठनको एक सर्वेक्षणले देखाएको छ। विश्वका १ सय ३० राष्ट्रमा गरिएको अध्ययनले महामारीका कारण मानसिक स्वास्थ्य सेवाको पहुँच नराम्ररी प्रभावित भएको र विश्वले तत्काल थप लगानी गर्नुपर्ने देखाएको छ।
उक्त सर्वेक्षणमा ६० प्रतिशत राष्ट्रमा मानसिक स्वास्थ्य सेवा प्रभावित रहेको र विशेष गरी बालबालिका, किशोर र पौढ बढी प्रभावित रहेको देखिएको छ। यसै गरी, ६७ प्रतिशत जनसङ्ख्याले काउन्सिलिङ तथा साइकोथेरपी सेवा नपाएको देखिएको छ।
नेपालमा पनि टिपिओ नामक संस्थाले लकडाउनको अवधिमा गरेको सर्वेक्षणमा करिब ५० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको मानसिक समस्याको लक्षण देखिएको छ ।
स्वास्थ्य अनुसन्धान परिषद् नेपालले गरेको एक अनुसन्धानमा कोरोना भाइरस महाव्याधिका कारण नेपालमा फ्रन्टलाइनमा खटिने २९ प्रतिशत चिकित्सक, नर्स र ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीमा डिप्रेसनको लक्षण देखिएको छ । उक्त अनुसन्धानमा ३५.७ प्रतिशतमा एन्जाइटी र १७.१ प्रतिशतमा साइकोलोजिकल डिस्ट्रेस रहेको पाईएको छ ।
मानसिक स्वास्थ्यको संवर्द्धन उपाय
- शारीरिक रोग झैँ मानसिक स्वास्थ्य समस्यालाई पनि सहज रूपमा लिनुपर्छ। 
मानसिक रोग निको हुने रोग हो। औषधीको सेवन, मनोपरामर्श तथा पुनर्स्थापना जस्ता उपचार विधिद्वारा यो रोगको उपचार सम्भव छ ।
- धर्म परिवर्तन गरेर, भाकल गरेर, धामीझाक्री लगाएर, मानसिक रोग निको हुँदैन। बेलैमा यसका विज्ञलाई देखाउनु पर्छ ।
- मानसिक रोग , आत्महत्या प्रतिको गलत धारणालाई हटाउन यस विषयमा चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नु पर्छ । यस विषयमा अभियान नै सञ्चालन गर्नु जरुरी देखिन्छ ।
- मानसिक स्वास्थ्यको बजेट नगन्ने छ यसलाई वृद्धि गर्नु जरुरी छ ।
मानसिक स्वास्थ्यमा एक अमेरिकी डलर बराबरको लगानीले चार अमेरिकी डलर बराबरको प्रतिफल दिन सक्ने एक अध्ययनले देखाएको छ ।
- मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने जनशक्तिको कमीलाई वृद्धि गर्नुपर्छ । मानसिक स्वास्थ्य कार्यकर्ता निर्माण गर्नुपर्छ । स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा पुराउन जरुरी देखिन्छ ।
- प्रकृति विपत्ति आइपर्दा , रोग व्याधि फैलिदा, दुर्व्यवहार, अन्याय, विभेद र लाञ्छना जस्तो जीवनमा कठिन अवस्थामा मानसिक समस्यामा पर्ने सम्भावना बढी हुने भएकाले प्रभावित व्यक्ति र समुदायलाई बेलैमा मनोसामाजिक सेवा-सहयोगको व्यवस्था राज्यले तत्काल गर्नुपर्छ ।
- विद्यालय तहमा मानसिक स्वास्थ्यका विषयमा पठन पाठन तत्काल सुरु गर्नुपर्छ ।
विद्यालयहरू बालमैत्री बनाउनु पर्छ। विद्यार्थीलाई जीवन उपयोगी सीप सिकाएर मनोसामाजिक समस्याको जोखिमलाई कम गर्न सकिन्छ ।
- वैदेशिक रोजगारीमा जाने युवाहरूको लागी मानसिक स्वास्थ्य तालिम, तनाव व्यवस्थापन सम्बन्धी सिप सिकाउन अत्यन्तै जरुरी देखिन्छ ।
- आफ्नो मानसिक स्वास्थ्य अवस्थाप्रति व्यक्ति स्वयं पनि सचेत र चनाखो हुनुपर्छ । आत्महत्या र मानसिक रोगको बारेमा खुलेर कुरा गर्नुपर्छ ।
मानसिक स्वास्थ्यलाई सबल बनाउन आफ्नो दैनिक रहन सहन, खानपान, जीवन शैलीमा सुधार ल्याउनुपर्छ, जीवनमा अप्ठेरो अवस्था आइपर्दा आफन्त, साथीभाइ र विज्ञको आवश्यक सहयोग लिन ढिला गर्नु हुँदैन ।
- मानसिक स्वास्थ्यको संवर्द्धन र प्रवर्द्धनका लागि सबै निकायबिच सहकार्य हुनु जरुरी देखिन्छ। सबै सरोकार बाला व्यक्ति, निकाय सङ्घसंस्थाहरू बिच ऐक्यबद्धताको जरुरत छ ।
- मानसिक स्वास्थ्यको संवर्धन र प्रवर्धन तथा आत्महत्याको रोकथाममा सञ्चार माध्यमाको महत्त्वपूर्ण भूमिका रहन्छ । यसमा सञ्चार माध्यमहरूले संवेदनशील भई सकारात्मक भूमिका खेल्नु पर्छ ।
लेखक : ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन्
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































