धरान : विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले सङ्खुवासभा पाचखपन-४ का ६१ वर्षीय प्रेमबहादुर श्रेष्ठलाई होलबडी परीक्षणको क्रममा दुवै मिर्गौला फेल भएको गलत रिपोर्ट दिएको छ ।
नेपाल सरकारको स्वास्थ्य बिमा अन्तर्गत पाइने सेवा स्वरूप होलवडी जाँच श्रेष्ठले गरेका थिए । रिपोर्टमा शङ्का लागि फेरी अर्को पटक परीक्षण गर्दा रिपोर्ट नर्मल आएको उनले बताए ।
इटहरी-९ गैसार स्थित नातिनीको बेल विवाहमा आएका श्रेष्ठ अचानक बिरामी भएपछि पुरै शरीर चेकअप गर्ने भनी २५ गते विराट मेडिकल कलेज गएका थिए । मिर्गौला फेल भएको रिपोर्ट हातमा दिँदै अस्पतालका एक कर्मचारीले तुरुन्त आइसियुमा भर्ना गर्न आदेश दिँदै औषधीहरूका नाम टिपेर दिएको प्रेमका कान्छा छोरा प्रह्लाद श्रेष्ठले बताए ।
आफ्नो बुवा मिर्गौलाको बिरामी नै नभएकोले पारिवारिक सल्लाह गरेर मात्र आइसियुमा राख्ने भन्दै अस्पतालबाट डिस्चार्ज गरेर घर लगेको प्रह्लादले बताए । अस्पतालको गलत रिपोर्टको कारण श्रेष्ठको परिवारले ४ दिन सम्म मानसिक समस्या भोग्नु परेको, राम्ररी नसुतेको तथा बुवा पुरै डिप्रेसनको सिकार भएको छोराले बताए ।
सोही अस्पतालमा पुन: परीक्षणका लागि अनुरोध गरे पछि अस्पतालले परीक्षण गर्यो, तर रिपोर्ट आउन केही दिन लाग्ने भनी फर्कायो । रिपोर्ट आउन ढिलो भएपछि २८ गते आइतबार सोही अस्पताल पुगेर २५ गते गरिएको ल्याब परीक्षण रिपोर्ट माग्दा त्यस्तो केही रोग नभएको भन्दै नर्मल रिपोर्ट दिएको थियो ।
अस्पतालको सेवा प्रति आक्रोश व्यक्त गर्दै प्रह्लादले कपुरी न्युज सँग भने अस्पताल जस्तो संवेदनशील क्षेत्रले नागरिकको पुरै शरीर माथि गैर जिम्मेवारी ढङ्गले कार्य गरेकोमा आपत्ति जनाए । रिपोर्ट लिन जाँदा अस्पताल प्रशासनले कर्मचारीको गल्तिले यस्तो भएको भनी माफी माग्दै हल्ला नगरिदिन दबाब दिएको दिएको उनले बताए । उनले भने 'धन्न पारिवारिक सल्लाह गरेर बुवालाई औषधी प्रयोग गरेनौ ।'
रिपोर्टको विषयलाई लिएर हस्पिटलका सञ्चालक ज्ञानेन्द्रमान सिंह, प्रशासन प्रमुख सुधीर सिंह राठोरले अस्पताल अन्तर्गत ल्याबमा खटिने कर्मचारीको गल्तीले रिपोर्ट गलत भएको स्वीकार गरेका छन् । अबका दिनमा यस्तो गल्ती नगर्न कर्मचारीलाई चेतावनी समेत दिइसकेका छौ ।”
हस्पिटल ल्याबका संयोजक सन्तोष काफ्लेका अनुसार मङ्सिर २५ गते प्रेम नामका २ बिरामी अस्पतालमा भर्ना थिए । दुवै मिर्गौला फेल भएका बिरामी प्रेम बहादुर स्याङबोको रिपोर्टे चैँ मिर्गौला बिरामी नै नभएका प्रेम श्रेष्ठलाई परेको बताए ।



































































