पथरी : रुपेश केसीले गरेको गोल निर्णायक बन्दा टेन नबोदयले मोरङको पथरी शनिश्चरेमा जारी ५ औ अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कपमा विजयी सुरुवात गरेको छ ।
शनिवार उर्लाबारीका विरुद्ध १-० गोलको जित निकाल्दै नबोदय दोस्रो चरणमा प्रवेश गरेको हो । निर्धारीत समयको अन्तिम मिनेटमा पाएको पेनाल्टी लाई सदुपयोग गर्दै केसीले गोल गरेका थिए ।
उर्लाबारीका डिफेन्सले डि एरियामा नबोदयका खेलाडीमाथि फल गरेपछि पेनाल्टीको अवसर पाएको थियो । खेलको १५ औ मिनेटमा उर्लाबारीका डिफेन्स नीरज बस्नेतले टेन नवोदयका बुद्ध चेमजोङ्लाई डिबक्स एरियामा फल गरेपछि पाएको पहिलो पेनाल्टीलाई उर्लाबारीका किपर चरी लिम्बुले रोके पनि दोस्रो पेनाल्टीमा भने केसीले गोल गरे ।
यस्तै खेलको २१ औ मिनेटमा नवोदयका सनम तामाङले प्रहार गरेको बल गोल पोस्टमा लागेर फर्कँदा टेन नवोदय गोल गर्नबाट चुकेको थियो ।
उर्लाबारीले खेल अवधीभर पाएका निकै सुनौला अवसरहरूलाई सदुपयोग गर्न नसक्दा उर्लाबारी प्रतियोगिताबाट बाहिरिन पुग्यो । उर्लाबारीका लागि खेलको ५८ औ मिनेटमा राइट हेन्ड साइड बाट सजय धिमालले गरेको सशक्त प्रहारलाई टेन नवोदयका गोल किपर अर्जुन बस्नेतले उत्कृष्ट बचाउ गरेका थिए ।
६७ औ मिनेटमा उर्लाबारीका मन्दिप धिमाल वान भर्सेस वानको अवस्थामा चुक्दा उर्लाबारीले हार बेहोर्नु पर्यो । शनिवारको खेलको म्यान अफ दि म्याच टेन नवोदयका रुपेश केसी भए । उनले नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
आइतबारको खेल विराटनगर र बेलडाँगीका बिचमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।