दमक : संसद् विघटन गरेर प्रधानमन्त्री केपी ओलीले नागरिक अधिकार कुण्ठित गरेको भन्दै आज दमकमा स्रष्टाहरूले त्यस विरुद्ध कविता वाचन गरेका छन् ।
'सबै खाले प्रतिगमका विरुद्धमा र निरन्तर अग्रगमनका पक्षमा स्रष्टा आन्दोलन २०७७' नाम दिइएको कार्यक्रममा १० जना स्रष्टाहरूले प्रतिगमनका विरुद्धमा कविता वाचन गरेका थिए ।
कार्यक्रममा प्रकाश बुढाथोकी, विराट किराँती, सुन्दर कुरुप, सेसेहाङ फियाक, रचना लावती लगायतले नागरिक जागरणका कविता वाचन गरेको कार्यक्रमको संयोजक साहित्यकार मेचि पुत्रले जानकारी दिए ।
दमकको मुख्य चौकमा खुल्ला रुपमा आयोजना गरिएको कार्यक्रममा विशेष वक्ताको रूपमा बोल्दै साहित्यकार राजन मुकारुङले स्रष्टाहरू सबै खालका प्रतिगमनको विरुद्धमा रहेको बताए ।
प्रधानमन्त्रीले संविधानमै नभएको अधिकार प्रयोग गर्दै संसद् विघटन गर्दा मात्रै नभएर निर्मला पन्त, सम्झना वि.क.हरुको बलात्कार पछि हत्या हुँदा पनि स्रष्टाहरू आन्दोलित बनेको बताउँदै नागरिक अधिकार कुण्ठित हुँदा हरेक सचेत व्यक्ति सडकमा निस्कनु पर्ने बताए ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































