काठमाडौँ : नेपालको लोकप्रिय मोडलिङ प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०२१’ को विजेता यही चैत्र १४ मा छानिने भएको छ ।

काठमाडौँको होटेल सोल्टी क्राउन प्लाजामा आयोजना हुने प्रतियोगिताका विजेताले उपाधिका साथमा विभिन्न अवसर र उपहार एकसाथ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा ३५ युवा  र ३३ युवतीहरू  प्रतिस्पर्धामा छन् । विभिन्न प्रशिक्षण, र्‍याप मोडलिङका विविध आयाम र व्याकरणदेखि स्टेज प्रस्तुतीकरणका तरिका लगायत  विषयमा कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिइरहेको आयोजकले जानकारी दिएको छ ।

प्रशिक्षणको क्रममा सहभागीहरूलाई फेसन सजगता, स्टाइलिङ, मेकअपको ज्ञान, सञ्चार कला र बडी ल्याङ्ग्वेज, व्यक्तित्व विकास, फिटनेस, फोटो सुट लगायत विषयमा पनि ज्ञान दिएको कोरियोग्राफर रोजिन शाक्यले बताए ।

रक्तदान, विपन्न तथा अनाथ बालबालिकाको सहयोर्गाथ कार्य लगायत विभिन्न सामाजिक काममा समेत प्रतियोगी भएका थिए ।

रवि धमला र एत्ना पाण्डेको निर्देशनमा सञ्चालन हुने मोडल हन्ट नेपाल सिजन ६ ग्राण्ड फिनाले अन्तर्राष्ट्रिय स्तरको रनवे सेटमा सोही अनुरूप सञ्चालन हुनेछ । नेक्स्ट मोडल्स नेपाल आयोजक रहेको प्रतियोगीताका सहभागी ग्राण्ड फिनालेमा आईसी कलेज अफ आर्ट एण्ड फेसनका विद्यार्थी फेसन डिजाइनहरू सहित इन्टा अटायरका फेसन डिजाइनर इन्टा श्रेष्ठले तयार पारेको सुन्दर र विशिष्ट पहिरनमा र्‍याम्प नाप्नेछन् ।

प्रतियोगिताका विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा सहभागीताको अवसरका साथै कोरियामा सञ्चालन हुने एलबीएमए अवार्ड, गोवामा मे महिनामा आयोजना गोवा फेसन वीक लगायत फेसन, मोडलिङ र मिडियामा विशेष अवसर प्राप्त गर्ने आयोजक संस्थाका रवि धमलाले बताए ।