धरान : धरानमा पाँचौँ राष्ट्रिय होराइजन बास्केटबल कप प्रतियोगिता आउने चैत १४ गतेदेखि हुने भएको छ ।

होराइजन क्लब धरानको आयोजनामा धरान उपमहानगरपालिकाको सहयोग र धरान सत्र समाज हङकङको मुख्य प्रायोजनमा पाँचौँ राष्ट्रिय होराइजन बास्केटबल कप हुने आयोजकले जनाएको छ ।

क्लबले आइतबार धरान-१८ बुद्धचोकस्थित कोइच क्याफेमा पत्रकार सम्मेलन गर्दै केही वर्ष देखी आमन्त्रित क्लब स्तरीय आयोजना हुँदै आएका होराइजन बास्केटबल प्रतियोगिता यस वर्षदेखि राष्ट्रिय स्तरको हुने जानकारी दिएको छ ।

क्लबका अध्यक्ष वसन्त राईका अनुसार प्रतियोगिता पाँचौँ राष्ट्रिय होइराइजन बास्केटबल कप प्रतियोगिता चैत १४ गतेदेखि १७ गतेसम्म धरान १७ स्थित श्री माविको बास्केटबल कोर्टमा आयोजना हुनेछ ।

प्रदेश नं १ बाट आयोजक होराइजन क्लब धरान, इमोर्टल क्लब धरान, ब्रदर्श क्लब धरान, तरहरा बास्केटबल क्लब इटहरी र युवा जागृति क्लब धरानको टिम हुनेछ । काठमाण्डौंबाट नेपाल आर्मी र टाइम्स क्लब सहभागी हुने अध्यक्ष राईले जानकारी दिए । यस्तै, रुपन्देही जिल्लाको बास्केटबल टिम सहभागी हुनेछ । प्रदेश नं १ को टिम प्रतिस्पर्धा गरेर नै ५ वटा टिम छनौट गरिएको पनि उनले बताए ।

प्रतियोगिताको च्याम्पियनले नगद एक लाख र उपविजेताले ५० हजार हात पार्नेछ । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार सहित पुरस्कृत गरिनेछ भने नवप्रतिभा घोषित खेलाडीलाई नगद ५ हजार दिइने आयोजक क्लबले जनाएको छ । सबैलाई विजेतालाई ट्रफि समेत प्रदान गरिने छ ।

प्रतियोगिता आयोजना स्थल श्री माविलाई पनि १० हजार बराबरको शैक्षिक सामग्री सहयोग गरिने उनले बताए । प्रतियोगिताको समापनको दिन एक जना खेलकुद समाचार लेख्ने पत्रकारलाई पुरस्कृत गरिनेछ । साहसिक तथा असाधारण प्रतिभा भएका खेलाडीलाई पनि नगद सहित सम्मान गरिने आयोजक क्लबका अध्यक्ष राईले जानकारी दिए ।

क्लबले यसअघि महिलाहरूलाई पनि सहभागी गराएको थियो । यस पटक कोरोनाका कारण महिलाहरूले बास्केटबल प्रतियोगितामा सहभागी गराउन नसकेको आयोजकले जनाएको छ ।