इटहरी : इटहरीमा सामाजिक कार्यमा सक्रिय सोसियल रिकन्स्ट्रक्सन फाउन्डेसनले वैशाख ११ गते प्रदेश १ कै ठुलो अल नेपाल हाफ म्याराथन आयोजना गर्ने भएको छ।
खेलकुदमा कोरोनाले देखा परेको असरलाई मध्यनजर गर्दै खेल क्षेत्रलाई उत्साह र प्रेरणा प्रदान गर्न आयोजना गर्न लागेको यसै संस्थाका अध्यक्ष राम निरौलाले बताए। "स्वास्थ्यका लागि खेलकुद नेपालको लागि खेलकुद" भन्ने नाराका साथ आयोजना हुने उक्त रनमा यस पटक कोरोना महामारीको समयले गर्दा प्रदेश १ मा कुनै पनि खेलकुद नभएको अवस्थामा यो कार्यक्रम आयोजना गर्न लागेको निरौलाले बताए।
कार्यक्रमको सम्पूर्ण व्यवस्थापन सोच खबर प्रालि ले गरिरहेको कम्पनीका निर्देशक कैलाश रेग्मीले बताए। इटहरीमा पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना हुन् लागेको संयोजक निरौलाको दाबी छ।
प्रतियोगितामा खुला तर्फ २१ किलोमिटर र महिला तर्फ मात्र १० किलोमिटरको दुरी रहने आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा सहभागिता जनाउन दर्ता शुल्क ५ सय रुपैयाँ तोकिएको आयोजकले जानकारी दिएको छ।
दर्ता वैशाख ६ गते सम्म रहेको आयोजकले जानकारी दिएको छ भने वैशाख ११ गते बिहान ७ बजे सुरु छ । प्रतियोगितामा खुल्ला प्रथम पुरस्कार १५० हजार, दोस्रो हुनेले १ लाख, तेस्रो हुनेले ५० हजार र सान्त्वना हुनेले १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्रदान गरिने बताइएको छ।
त्यसै गरी १० किलोमिटर महिला तर्फ प्रथम हुनेलाई ३० हजार दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार र सान्त्वना लाई ५ हजार सहित मेडल र प्रमाण पत्र प्रदान गर्ने जानकारी दिएको छ।
इटहरीबाट सुरु भएको रन धरानको विश्वकर्मा मन्दिरमा आएर समापन हुनेछ भने महिला तर्फ इटहरीबाट पहिलो ट्याङ्की हुँदै पुनः इटहरीको आँपगाछी आएर सम्पन्न हुनेछ।


































































