धरान : धरानमा सञ्चालन गरिएका विभिन्न बङ्गुर फर्महरूमा पिआरआरएस PRRS भाइरसको सङ्क्रमणका कारण मरेका बङ्गुरहरूको मासु मासु बिक्री वितरण भएको आशङ्का गरिएको छ। 

PRRS (porcine reproductive and respiratory syndrome) भाइरसको सङ्क्रमण देखा परेपछि गत फागुन १८ गते देखि धरान ४, ५, ६, ७, १५ र १३ मा भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र इनरुवाले दिइएको तथ्याङ्क अनुसार  गत फागुन १८ देखि वैशाख २ गते सम्ममा ४ सय ८ वटा बंंगुरको मरेका छन् । किसानलाई ५० लाख बढीको क्षति भएको छ । मरेका बङ्गुर बढी गर्भिणी र साना पाठा  मात्र २ सय ४७ वटा रहेका छन् ।

गत फागुन १८ गते देखि व्यापक रूपमा फैलिएको सङ्क्रमणबारे हालसम्म पनि धरान पशु शाखाले धरानवासीलाई कुनै जानकारी नदिनु, यसबारे सचेत नपार्नु, मिडियाकर्मीहरूलाई यसबारे जानकारी नदिनु र सबै फर्म र बङ्गुर पालकहरुकोमा पशु डाक्टर नपुग्नु रोगबारे कुनै जानकारी नदिँदा स्वास्थ्य जस्तो गम्भीर चिजमा लापरबाही भएको धरान-१५ की  नमिता राईले  गुनासो गरिन । 

.आफ्नो परिवारमा बङ्गुरको मासु खाने बिरामी भएको भन्दै उनले स्वास्थ्य जस्तो चिजमा खेलबाड भएको छ, कालोबजारी गर्ने, फर्म र मासु पसलेलाई पनि कारबाही हुनु पर्छ' उनले भनिन् ।

रोग लागेर मरेका बङ्गुर नष्ट गर्नुपर्ने हुन्छ तर धरान उपमहानगरपालिका पशु सेवा शाखाले मरेका बङ्गुरको  तथ्याङ्क टिपेर फर्के पछि मरेका बङ्गुरको मासु मिट फ्रेस हाउसमा बिक्री गरेको खुलेको छ। पशु शाखाले मृत बङ्गुर कसरी नष्ट गरिए  र कहाँ गरिए भनेर  पनि सन्तोषजनक जवाफ दिएको पाइँदैन ।

यसरी बङ्गुरमा सङ्क्रमण देखा परे पछि धरानका मासु पसलहरूमा बङ्गुरको मासुको बिक्री वितरणमा कमी आएको अर्पण मिट फ्रेस हाउसका सञ्चालक प्रेम विश्वकर्माले जानकारी दिए। 'धरानको कालो बङ्गुर' भनेर चर्चा पाएको कालो बङ्गुरहरू बिक्री हुन छाडेको बङ्गुर फर्मका सञ्चालकहरूको भनाई छ ।

पशु शाखाका डा. बिर्खराज  राईका अनुसार धरानमा मरेका बङ्गुरको पोस्टमार्टम गरी रोगको अनुसन्धान गरिएको थियो । यो भाइरसले बङ्गुरहरूको फोक्सोमा र  प्रजननमा मात्र असर पुराउने भएकाले मानिसलाई कुनै पनि असर नगर्ने, मानिसमा यस रोग नसर्ने र बिरामी नभएका बङ्गुरको मासुको बिक्री  वितरणले स्वास्थ्यमा असर नगर्ने दाबी गरेका छन् ।

सर्वप्रथम देवान कृषि फार्मको भाले बङ्गुरमा देखा परेको लक्षण खाना नखाने, धेरै सुत्ने,ज्वरो आउने आदी  लक्षण देखा परेको उनले बताए । लक्षण सँगै गर्भिणी  बंंगुरहरुमा पनि  बच्चा तुहिने, जन्मेका बच्चाको पनि मृत्यु हुने, सास फेर्न गाह्रो हुने र अक्सिजन  कम भएर मर्ने गरेको  लक्षणहरू देखा परेका  थिए ।

त्यसपछि धरानका देवान कृषि फर्म, देउराली कृषि फर्म, मातृभूमि कृषि फर्म, सङ्गीता कृषि फर्म, पानवारी कृषि फर्म, दुर्गा कृषि फर्म, आरुबोटे कृषि फर्म र डिआरएस कृषि फर्मका बङ्गुरहरूमा PRRS को सङ्क्रमण देखा परेको  थियो ।

यसबारे धरान उपमहानगरपालिकाका मेयर तिलक राईले सङ्क्रमित भएको आशङ्का गरिएका बङ्गुरमा भाइरस सङ्क्रमण परीक्षण गर्ने र फर्म तथा मासु पसलमा अनुगमन गर्ने बताएका छन् ।