विराटनगर :  विराट गोल्डकपको छैटौँ संस्करणको उपाधि विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौंले जितेको छ ।

विराटनगरस्थित सहिद मैदानमा शनिवार सम्पन्न फाइनलमा पाहुना टोली भारतको पञ्जाब पुलिसलाई १–० ले हराउँदै एपीएफले उपाधि जितेको हो । जितसँगै एपीएफले १५ लाख १५ हजार रुपैयाँ र ट्रफि उचालेको छ ।

खेलको पहिलो हाफसम्म दबाबमा राखेको एपीएफका प्रदीप लामा नायक बने । उनले खेलको ११ औँ मिनेटमा गरेको निर्णायक गोल टिमलाई छैटौँ संस्करणको विराट गोल्डकपको उपाधि दिलाउन सफल भए ।

प्रदीपले अन्तिम डिफेन्डरलाई बिट गर्दै बल क्लियर गरेका थिए । खेलको सुरुवातदेखि आक्रामक देखिएको एपीएफका बुद्धिमान राईले खेलको दोस्रो मिनेटमा पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले ।

बिकु तामाङले निकालेको पासलाई बुद्धिमानले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरियो । खेलको चौथो मिनेटमा एपीएफका कप्तान सुदीप सिख्राकारको डिबक्स नजिक देखिको प्रहार बाहिरदा थप गोल गर्ने अवसर खेर गयो ।

खेलको ३८ औँ मिनेटमा एपीएफका आशिष् लामाले ३० यार्डदेखि गरेको प्रहार पन्जाबका गोलरक्षक सतबीर सिंहले पंन्ज गरी उत्कृष्ट बचाउ गरिदिए । पन्जाबको डिफेन्डर र रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै एपीएफले उपाधि जितेर छोडेको छ ।

दोस्रो हाफदेखि आक्रामक भएर मैदान प्रवेश गरे पनि पन्जाबले बारम्बार गोल गर्ने अवसर चुकाउँदा उपबिजेतामा सीमित भयो । उपविजेता बनेको पन्जाबले ७ लाख ५१ हजार रुपैयाँ पाएको छ । दोस्रो हाफदेखि बारम्बार पोस्ट आक्रमणको रणनीति बुनेको पन्जाबका खेलाडीले गोल गर्नका लागि पाएका केही अवसरको सदुपयोग गर्न सकेन ।

खेलेको ५१ औँ मिनेटमा राजवीर सिंहले गरेको प्रहार बाहिरिँदा खेल बारबारीमा ल्याउनबाट चुक्यो । ७० औँ मिनेटमा प्रमजीत सिंहको वान भर्सेस वानको स्थितिमा गरेको प्रहारमा पोसमाथिबाट बाहिरियो । केही राम्रा अवसरले पोस्टको बाटो तय गर्न नसक्नु पाहुना टोली पन्जाबको लागि दुर्भाग्यपूर्ण बन्यो ।

एपीएफले यो सिजनमा दुई वटा गोल्डकपको उपाधि जितेको छ । यसअघि महिना दिन अगाडी सम्पन्न भएको चौथो गोलबजार गोल्डकपको उपाधि जितेको छ । गोलबजार गोल्डकपमा फाइनलमा आयोजक टिमलाई ४–० गोलले हराउँदै एपीएफ च्याम्पियन भएको थियो ।

प्रतियोगिताको म्यान अफ द टुनामेन्ट एपीएफका आशिष् लामा घोषित भए । उनले मोटरसाइकल पाएका छन् । एपीएफका प्रदीप लामा म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार पाए । बेस्ट गोलकिपरमा एपीएफका राजु नगरकोटी भए ।

यस्तै बेस्ट डिफेन्डर सशस्त्र प्रहरीका सनिश श्रेष्ठ, बेस्ट मिड फिल्डर एपीएफका मणि लामा घोषित भए । हाई स्कोर गर्ने विराटनगरका ११ का प्रकाश बुढाथोकी घोषित भए । उनले खेल अवधिभरिमा ४ गोल गरेका थिए । एपीएफका सुमित श्रेष्ठले बेस्ट कोच अवार्ड जितेका छन् ।

बेस्ट स्ट्राइकरमा सङ्कटाका क्लब काठमाण्डौका फोडे फोफना घोषित भए । उनीहरू सबैले जनही २५ हजार रुपैयाँ पाएका छन् । फिफा अनुशासित टिममा विराटनगर महानगरपालिका ११ घोषित भयो ।

विजयी हुने टिम र खेलाडीहरूलाई प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली,राष्ट्रिय खेलकुद परिषदको सदस्य हरि खड्का, विराट गोल्डकपको संयोजक मनोज विक्रम साहलगायतले पुरस्कार तथा ट्रफि वितरण गरेका छन् ।