आज धेरै पछि चढेको थिए 
यो दुई धारेको बाटो
दन्तकाली दर्शन गर्न 
आफ्नो भटभटेलाई विश्राम दिई
धेरै पछि पैतालालाई दुःख दिन
पहिला हामी यही बाटो हिडथ्यौ सधैँ
ढुङ्गे बाटो दुई धारेको पानीले आँत भिजाउँदै
त्यही बाटो भएर हिडथे धेरै प्रेमिल जोडीहरू
दन्तकाली अनि बुढासुब्बामा, सँगै जिउने मर्ने कसम खान्थे 
अनि बासको फेदमै लेख्थे बि प्लस यस 
यस्तै यस्तै प्रेमका डोबहरू
आफ्नो प्रेम अजम्बरी बनाउने लालसामा
ती कैयन प्रेमिल जोडी आज 
आफ्नो बसेरामा बच्चा हुर्काउँदै होलान् 
बडो तन्मयताका साथ
केही आफ्नो प्रेम बिछोड हुनुको कारण खोज्दै होलान् 
समयले टक्क रोकाएर दिने स्मृतिहरूमा
आज यो दुई धारेको बाटो हिजोको जस्तो छैन 
ढुङ्गा छोपेर बालुवा र सिमेन्टको ढलानले उन्मुक्त हाँसो हाँसिरहेछ
लाग्यो कतै मलाई त उ गिज्याइ रहेको छैन 
लामो अन्तरालको भेटमा
उसले मुस्कुराउँदै सोध्यो 
खोइ तिम्रो हात समाउँदै,मुस्कुराउँदै
यो उकालो चढ्ने तिम्रो प्रेमिल जोडी 
मैले पनि मुस्कुराउँदै भने तिमी अझै सम्झँदै छौ
ती विगत थिए
अचेल हाम्रो प्रेमले बाटो अन्तै मोडी सक्यो
म पुनः मुस्कुराए
उ अलिक भावुक हुँदै भन्यो
तिम्रो मुस्कान भित्रको पीडा
मलाई मेरै जस्तो लाग्यो
जसरी म बालुवा र सिमेन्टको ढलान भित्र 
ढुङ्गाको पीडा छोपेर मुस्कुराइ रहेछु
बनावटी हाँसो
ढुङ्गे बाटोको नाम आर सि सि बाटो सँग साटेर
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































