धरान : गायिका पारु राईको तिम्रो तृष्णा बोलको सोलो गीत सार्वजानिक भएको छ।

पारुले गीतको शब्द आफै रचना गरेकी हुन भने म्युजिक भिडियोमा करिब डेढ दशक यता ब्रिटिस गोर्खा सेनामा कार्यरत साथै सामाजिक अभियन्ता मण्डल थेबेका साथमा पारु आफैले अभिनय पनि गरेकी छिन्। साथै भ्वाईस अफ नेपालका फाईनलिष्ट विकास लिम्बु र बृक्षा लिम्बुको अभिनय रहेको छ ।

युके कर्मथलो भएकी पाँचथरकी पारुले सुनसरीको इटहरीमा रहँदा साङ्गीतिक क्षेत्रमा आफ्नो छाप छाडेकी थिइन । 'प्यास' नामक गीति एल्बम रिलिज गरिसकेकी पारुले सो एल्बमबाट २ वटा म्युजिक भिडियो सार्वजनिक गरिसकेकी छिन् ।

रिलिज भएको तिम्रो तृष्णा बोलको सोलो गीतमा बेलायतको सुन्दर दृश्यहरू कैद गरेर नेपालका केही सुन्दर तथा रमणीय ठाउँमा छायाङ्कन गरिएको छ ।

गीतमा सङ्गीत वरिष्ठ गायक तथा सङ्गीतकार तारा प्रकाश लिम्बुले भरेका छन् । यस भिडियोमा छांयाकन, सम्पादन एवं निर्देशन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका छन् । यस्तै नेपालतर्फको निर्देशन सुरज तामाङले गरेका छन् । म्युजिक भिडियोको मेकअप बिपना गुरुङ, सह-छांयाकन आशिष श्रेष्ठ र रङ्ग संयोजन नवीन निरौलाको रहेको छ।

नेपाल छँदै सङ्गीतको आधारभूत शिक्षा लिई सकेकी गायिका राईले पारिवारिक जिम्मेवारीका कारण साङ्गीतिक यात्रालाई अगाडी बढाउन नसकेको तर नेपाली गीत सङ्गीत प्रति प्रेम रहेकाले पुनः सङ्गीतलाई निरन्तरता दिएको बताईन्।

उनी विगत तीन वर्ष देखि दि लन्डन कलेज अफ म्युजिकमा अन्तर्गत क्लासिकल पियानो सम्बन्धी कक्षा लिई रहेकी छिन् । प्रवासमा रहेर आफूलाई मन पर्ने पेसा अँगाल्न सोचे जस्तो सहज नभएको गायिका पारु बताउँछिन्।

पारुले आफू प्रवासमा रहँदा पनि ब्रिटिस आर्मीमा कार्यरत श्रीमान् दिलीप राईको प्रोत्साहनले आगामी दिनमा साङ्गीतिक क्षेत्रमा निरन्तर लाग्न प्रेरित गरेको उनले बताइन् ।