इटहरी : आगामी आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ। जसमध्ये सबैभन्दा धेरै चालु खर्चतर्फ सङ्घले खर्च गर्न ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात् ४१.२ प्रतिशत बजेट विनियोजन गरेको छ।

पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब अर्थात् २२.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड अर्थात् १२.६ प्रतिशत बजेट विनियोजन भएको हो ।

वित्तीय हस्तान्तरण तर्फ ३ खर्ब ८६ अर्ब अर्थात् २३.५ प्रतिशत रहेको छ। स्रोत व्यवस्थापनकालागि राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ र वैदेशिक अनुदानतर्फ ६३ अर्ब ३७ र राजस्वबाट अपुग हुने रकममध्ये आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब र बाह्य ऋणबाट ३ खर्ब ९ अर्ब रुपैयाँ सङ्कलन गर्ने सरकारको लक्ष्य छ ।

शनिवार प्रस्तुत बजेटमा प्रदेश १ को हवाई र सडक पूर्वाधार प्राथमिकतामा परेको छ। बिर्तामोड-चन्द्रगढी र धरान-इटहरीलाई मेघासिटीमा विकाश गरिने र विराटनगर महानगरपालिकाको विद्युतीय तार भूमिगत गरिने भएको छ।

चन्द्रगढी र तुम्लीङटार विमानस्थलको स्तरोन्नति गरिने साथै इलामको सुकिलुम्बामा परीक्षण उडान गरिने भएको छ। ताप्लेजुङको सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल नामकरण गरी धावनमार्ग बिस्तार गरिने र तेह्रथुमको चुहानडाँडा विमानस्थललाई आङ छिरिङ्ग शेर्पा विमानस्थल नामकरण गरी निमार्णकार्य अगाडी बढाइने भएको छ।

मदन भण्डारी राजमार्ग अन्तरगत शान्तिनगर-धरानको सडक खण्ड निर्माण सम्पन्न गरी सक्ने योजना प्रस्तुत भएको छ। इटहरी विराटनगरमा विद्युतीय बस सञ्चालनमा अनुदान दिइने भएको छ। धरान-धनकुटा सडक खण्ड अन्तरगत धरान-लेउती सुरुङ मार्ग निर्माण कार्य सुरु गरिने भएको छ ।

जोगबनी विराटनगर खण्डमा रेल सेवा सञ्चालन गरिने, काकडभिट्टा-इनरुवा खण्डको जग्गा अधिग्रहण र अन्य तयारी सम्पन्न गरी निर्माण कार्य थालिने भएको छ।

कोसी नदीको चतरादेखि भोजपुरसम्म जल यातायात सञ्चालन गर्न जलमार्गमा रहेका अवरोध हटाइने भएको छ। माथिल्लो अरुण जलविद्युत आयोजनाको लगानी ढाँचा यकिन गरी पुर्वतयारी कार्य पुरा गरिनेछ। तमोर करिडोर अन्तरगत चतरा देखी ओलङचुङगाला र कोसी कोरिडोर अन्तरगत खाँदबारी-किमाथाङ्का सडक निर्माण कार्यलाई तीव्रता दिइने भएको छ ।

समृद्ध तराई मधेस सिचाई कार्यक्रम अन्तरगत झापा र उदउपुरमा ट्युवेल जडान गरिने भएको छ। झापाको कन्काई र मोरङको रतुवा नदी नियन्त्रण गरिने भएको छ । झापाको भद्रपुर बजारलाई कटानबाट बचाइने र जनताको तटबन्ध अन्तरगत मावा, बिरिङ बक्राह खोलामा वायोइन्जीनियरीङ प्रविधिबाट नदी नियन्त्रण गरिने भएको छ । उदयपुरको त्रियुगा नदीको कटान नियन्त्रण गर्न ८४ किलोमिटर तटबन्ध गरिने भएको छ ।

इलाममा वायु गुणस्तर मापन केन्द्र स्थापना गरी सन्दकपुरमा पर्यटन पूर्वाधार निर्माण गरिने, झापा दमकको औद्योगिक क्षेत्रको पूर्वाधार तयार गरिने, इलामको माइपोखरी र सुनसरीको बर्जुतालको संरक्षण एवं सौन्दर्यीकरण गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने भएको छ। रतुवा बिरिङ कन्काईमा पुल निर्माण गर्ने भएको छ ।

बिराटनरमा दूध बजार सुनिश्चित गर्न दूध सङ्कलन केन्द्र तथा चिश्यानकेन्द्र र आधुनिक पशु वधशाला स्थापना हुने भएको छ। झापाको चन्द्रगढीमा कृषिमा आधुनिक प्रविधिको विकाश गर्न कृषि फार्मलाई सेन्टर फर एक्सिलेन्स स्थापना हुने भएको हो। स्वास्थ्य क्षेत्रको हकमा विराटनगरको सरकारी अस्पतालमा दम्पतीको लागी आइभिएफ सेवा सुरु हुने भएको छ ।

मोरङमा बाल सुधार गृह सञ्चालन गरिने बजेट बत्तव्यमा उल्लेख गरिएको छ । जोखिममा परेका अल्पसङ्ख्यक लोपोन्मुख सीमान्तकृत समुदायका बालबालिकाको लागी ताप्लेजुङ लगायत १३ हिमाली जिल्लामा माध्यमिक तहका आवासीय विद्यालय संचानल गरिने भएको छ ।

मोरङको बैधनाथपुरमा क्रिकेट मैदान स्थापना गरिने, झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको मदन भण्डारी रङ्गशाला दुईबर्ष भित्र सञ्चालनमा ल्याउने गरी निर्माण गरिने भएको छ। इटहरी प्रादेशिक रङ्गशाला अगाडी बढाई सोलुखुम्बुमा हाई अल्टिच्युड स्पोर्टस सेन्टर स्थापना गरिने भएको छ ।

सहलगानीमा निर्माणाधीन ताप्लेजुङको पाथीभरा, सङ्खुवासभाको चैनपुर, मोरङको मानगढ, ओखलढुङ्गाको ओखलढुङ्गा बजारको खानेपानी आयोजना सम्पन्न गरी सक्ने लक्ष्य राखिएको छ। दमकमा ढल प्रशोधन केन्द्र स्थापना गर्ने योजना सार्वजनिक भएको छ ।

ताप्लेजुङको ओलाङचुङगोला र सङ्खुवासभाको किमाथाङका मा सुक्खा बन्दरगाहको पुर्वतयारी सम्पन्न गरी निर्माण प्रारम्भ गरिने, मेची र विराटनगर नाकामा कन्टेनर स्क्यानर मेसिन जडान गरिने भएको छ।

पाँचथर र भोजपुर लगायत ९ स्थानमा ट्रान्समिटर थप गरी रेडियो नेपालको पहुँच बिस्तार गरिने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेटको पुर्णपाठ सहित