धरान : उमेश रेग्मीको गीत 'सुनसरी इनरुवा' को भिडियो सार्वजनिक भएको छ। उमेशको शब्द, सङ्गीत तथा रामकृष्ण ढकाल र मेलिना राईको स्वर रहेको गीतको भिडियोमा गायक रामकृष्ण ढकाल र रिमा विश्वकर्मा फिचरिङ छन्।

गायक, सङ्गीतकार तथा रचनाकार उमेश रेग्मीले डेढ दशकअघि नै आफ्नो गृहनगर इनरुवाप्रति समर्पित गर्दै ‘सुनसरी इनरुवा’ एल्बम बजारमा ल्याएका थिए । त्यहि एल्बमको शीर्ष गीतको रिमेक गरी नयाँ भर्सनमा सार्वजनिक गरिएको छ ।

गीतका शब्दहरुमा इनरुवा र आसपासका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरुको वर्णनसँगै माया-प्रेमका भावना व्यक्त गरिएको छ भने भिडियोमा इनरुवा बजारसहित रामधुनी, देवीथान, लाटी माई, कंश मरण लगायतका मठ मन्दिरहरुको दृश्य समवेश गरिएको छ । इनरुवामै छायाँकन गरिएको भिडियो युवराज वाईवाले निर्देशन गरेका हुन् । भने छायाँकन निलास पौडेलले र सम्पादन विकास दाहालले गरेका हुन् । गीतको एरेञ्ज महाराज थापाले गरेका हुन् । गोत्र इन्टरटेनमेन्ट च्यानलबाट भिडियो सार्वजनिक भएको हो । हाल अमेरिकामा रहेका उमेशले एकपछि अर्को नयाँ गीत सार्वजनिक गरिरहेका छन् ।

यसअघि उनले बाबाको दुई पैसे जागिर बोलको गीत सार्वजनिक गरेका थिए । दर्शक स्रोताले उक्त गीत र भिडियो मन पराएका थिए । उनी आफै गाउने, लेख्ने र सङ्गीत भर्ने क्षमता राख्छन् । तर पछिल्लो समय उनले सङ्गीत र शब्दमा जोड दिइरहेका छन् । यसअघि उनको नयाँ गीत ‘एक्का बास्सा मिस्सी’ को भिडियो बजारमा आएको थियो । त्यसअघि उनको ‘वैशाख नि बित्यो’ बोलको अर्को भिडियो सार्वजनिक भएको थियो । त्यसैगरी उमेशकै सङ्गीत र टीका प्रसाईंको स्वरमा रहेको गीत ‘मेरो याद’ को भिडियो पनि सार्वजनिक भएको थियो । यो गीतमा उमेशले पनि टीकालाई स्वरमा साथ दिएका थिए ।

उमेशले २०६५ सालमै गीत रेकर्ड गराएका थिए । त्यसो त उमेशले धरानलाई कर्मक्षेत्र बनाएर केही वर्ष काम गरे । त्यसबेला ६ वटा गीतको एल्बम् ‘युमेश’ बजारमा ल्याएका थिए ।

उमेशको सङ्गीतमा वरिष्ठ गायक दीप श्रेष्ठदेखि रामकृष्ण ढकाल, नविन के भट्टराई, अञ्जु पन्त, विश्व नेपाली, मेलिना राई, बानिका प्रधान, नवीन रनपाल लगायतले स्वर दिएका छन् । उमेशले हालै सार्वजनिक ‘सुनसरी इनरुवा’ बोलको गीतलाई आफ्नो महत्वपूर्ण गीतका रुपमा लिएका छन् । उनी भन्छन्, ‘यो गीत स्रोता दर्शकले मन पराईदिनु हुन्छ भन्नेमा विश्वस्त छु।’