धरान : द भ्वाईस अफ नेपालको नकआउट राउन्ड सम्मको यात्रा तय गरी बाहिरिएका प्रतिभाशाली गायक इशान राईको स्वरमा राई इज किङ्ग राजेश पायल राईले आफ्नै सङ्गीतमा तथा तुलसी बस्नेतको शब्दमा “धरानकी सान्नानीको सम्झना पो आयो है “बोलको गीत रेकर्ड गराएर आफ्नै युट्युब च्यानल मार्फत रिलिज गरेका छन्।

गायक राजेश पायल राईले समेत फिचरिङ्ग गरेको गीतको भिडियो रिलिज भएको दोस्रो दिनमै युट्युबको ट्रेन्डिङमा समेत परेको छ । नकआउट राउन्डबाट बाहिरिए पनि उनलाई सम्पूर्ण जजहरूले मन पराएका थिए ।

महागुरु दीप श्रेष्ठको टिममा रहेका गायक इशान राईको पछि गायक राजेश पायल राई ले नकआउट राउन्डबाट नै बाहिरिएकी अर्का प्रतिभाशाली गायिका मेलिना मैनाली सँग एउटा युगल गीत रेकर्ड गराउने बाचा गरेका छन् । आफूलाई मन परेका प्रतिभाशाली गायक –गायिकाहरूको लागि निस्फिक्री बोल्ने गायक पायलले यसअघि पनि द भ्वाईस अफ नेपालको बैशाली लामासँग एक युगल गीत रेकर्ड गराएका थिए ।

महागुरु दीप श्रेष्ठको टिमबाट द भ्वाईसमा यतिको यात्रासम्म पुगी नेपाली सङ्गीत आकाशको चम्किलो तारा राजेश पायल राईको बलियो साथ पाएपछि गायक इशान पनि अहिले एकदमै खुसी छन् । आफ्नो मेहेनेतलाई अझ निखार्दै आफ्ना शुभचिन्तक तथा दर्शक–श्रोताहरूको भरोसालाई कायम राख्न आफू कटिबद्ध रहेको गायक इशान बताउँछन् ।