धरान राष्ट्रिय सङ्गीतकर्मी सङ्घ नेपालले निशालाई सहयोग कार्य सुरु गरेको छ । सङ्घले बिहीबार काठमाडौँको थापाथली स्थित नर्भिक अस्पताल पुगेर आर्थिक सहयोग प्रदान गरेको छ।
सङ्घका तर्फबाट अध्यक्ष राजेन्द्र कार्की, महासचिव विक्रम जङ्ग शाह सहित सरिता भारती, दीपेन्द्र तिम्सिना लगायतका कलाकारले निशाका बुबा प्रेमप्रसाद घिमिरेलाई आर्थिक सहयोग प्रदान गरेको छ।
सङ्घको बिपत व्यवस्थापन समितिका संयोजक समेत रहेका सङ्घका महासचिव शाहले निशा घिमिरे सो सङ्घकी सदस्य रहेको बताए। सोही कारण निशाको उपचारको खर्च सङ्कलनका लागि आफूहरूले पहल सुरु गरेको शाहले बताएका छन् । सङ्घले आफ्नो सदस्यहरूलाई आपत् पर्दा विगतमा पनि आर्थिक सहयोग प्रदान गर्दै आएको पनि शाहले जानकारी गराए ।
निशालाई आर्थिक सहयोग गर्न समिति नै गठन गरिएको जानकारी गराउँदै महासचिव शाहले भने,‘४ हजार भन्दा बढी सदस्य रहेको हाम्रो सङ्घको ७४ जिल्लामा शाखा रहेको छ । ती शाखाहरूबाट के कति सकिन्छ, निशाको उपचार र उपचारको क्रममा विगतमा परिवारलाई परेको ऋण भारलाई कम गर्न पनि हामीले आर्थिक सङ्कलन पहल सुरु गरेका हौँ ।’ यसै गरी दुई वर्ष अघि पनि निशालाई आफूहरूले ट्रमा सेन्टर पुगेर उपचारका लागि आर्थिक सहयोग गरेको पनि शाहले स्मरण गराए ।


































































