धरान : धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तन परीक्षण गर्ने मेमोग्राफ मेसिन बिग्रँदा स्तनमा समस्या भएका बिरामीलाई परीक्षण गर्न समस्या भएको छ ।

धरान-२ की कोपिला पौडेलले गुनासो गर्दै भनिन ‘‘प्रतिष्ठानको मेमोग्राफ ६ महिना देखि बिग्राएको छ । जति पटक गए पनि बनेको हुदैन् । प्रतिष्ठानका डाक्टर विराटनगर गएर स्तनको समस्या परीक्षण गर्नु भन्नु हुन्छ तर, लकडाउन छ ।

गाडी बन्द भएको समयमा हामी कसरी विराटनगर जानु ? स्तनमा सा-साना गाँठा छन् । डाक्टरहरू आफै यो गाँठाले ठुलो रूप लिएर स्तन क्यानसर पनि हुन सक्छ भन्छन् । बिपीमा मेसिन बनी दिए यही नै परीक्षण गर्न पाए हुन्थ्यो । ’’

धरान-१७ की यमुना परियारको पनि स्तनमा समस्या छ तर, प्रतिष्ठानको मेसिन बिग्रेको धेरै भयो परीक्षण गर्न नपाएको गुनासो गर्छिन् । बिपी कोइराला अस्पताल एसियाकै उत्कृष्ट भनिन्छ तर सानो मेसिन समेत नहुनु हामी जस्ता बिरामीहरूका लागि दु:खद हो उनी भन्छिन्।

तर यसबारे प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणी पोखरेले मेमोग्राफ नबिग्रेको बताउँदै भने मेमोग्राफको मेसिनमा प्रयोग हुने ‘क्यासेट’ बिग्रेको हो । जुन काठमाण्डौँबाट कुरियरको माध्यमबाट धरानमा १ हप्ता भित्रमा आइपुग्छ ।

अस्पतालको उद्देश्य भनेको छिटो प्रभावकारी गुणस्तरीय सेवा प्रदान गर्नु हो । तर लकडाउनले गर्दा बिग्रिएका सामानको ढुवानीमा समस्या भएको सह प्रवक्ता डा. पोखरेल बताउँछन् । स्वास्थ्य सामग्री बोकेका सवारी साधन निर्वाध रूपमा सञ्चालन गर्न पाइने भनिए पनि एउटा मात्र स्वास्थ्य सामग्री ल्याउन प्रतिष्ठानलाई समस्या छ ।

प्रतिष्ठानमा अक्सिजन प्यान्ट लगायतका अन्य विभागमा मेसिन धेरै पुरानो भएकाले बिग्रेको कुनै खरिद नगरेको जस्ता गुनासो पनि बढ्दै गएका छन् ।

म्यामोग्राफी के हो ?
म्यामोग्राफी भनेको रेडियोलोजिकल वा एक्स-रे परीक्षणको प्रक्रिया हो जुन स्तनमा क्यान्सर वा अन्य विकारहरू पत्ता लगाउन मद्दत गर्ने भएकाले यो विधिबाट स्तनको जाँच गरिन्छ ।

म्यामोग्राफीमा परीक्षण गर्दै स्तन क्यान्सर पत्ता लगाउनको लागि स्क्रीनिंग पनि हो ।