धरान : धरानका पत्रकार रिकेश विश्वकर्माको देशभक्ति गीत हाम्रो देश सार्वजनिक भएको छ।

धरान उपमहानगरपालिका ११ नं. वडा कार्यालयको संयोजन तथा मकालु कला केन्द्रको प्रस्तुतिमा देशभक्ति गीत हाम्रो देशको म्युजिक भिडियो वडा नं. ११ का अध्यक्ष बाबुलाल लामाले सार्वजनिक गरेका हुन्।

गीतमा धरानकै गायकद्वय एपि शेर्पा, यशोदा सुब्बा, सन्देश बम्जन लामा र साजन लामिछानेको स्वर रहेको गीतमा सङ्गीत सुजन रसाइलीको रहेको छ।

गीतको सङ्गीत संयोजन मनोज मोतेले गरेका हुन। गीत धरानको म्युजिक मिडिया र काठमाडौँको भोइस अफ नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।

भिडियोमा धरानकै स्थानीयहरुले अभिनय र प्रस्तुति दिएका छन्। भिडियोमा गरिमा डान्स सेन्टरको कोरियोग्राफी रहेको छ। भिडियोको छायाङ्कन र सम्पादन एडम लिम्बुले गरेका हुन् भने भिडियोको निर्देशन रिकेश विश्वकर्माकै रहेको छ। भिडियो भिजन नेपाल टिभीबाट सार्वजनिक गरिएको हो।

आदिवासी जनजातिको पहिचान एवम् समग्र सबै समुदायलाई समेटिएको देशप्रति सम्मान स्वरूप उक्त गीत निर्माण गरिएको गीतकारले रिकेशले बताएका छन्। उनी हाल धरान कृति टेलिभिजन र प्रदेश पोर्टल डटकममा आबद्ध रहेर पत्रकारिता गर्दै आएका छन्।

सार्वजनिक कार्यक्रममा दलित विकास समितिका संयोजक किशोर परियार, कार्यपालिका सदस्य कल्पना थापा मगर वडाका जनप्रतिनिधिहरू किरण राई, कृष्ण रिजाल, पत्रकार महासङ्घ प्रदेश सचिव देवेन्द्र कार्की ,स्थानीय समाजसेवी एवम् राजनीतिज्ञ प्रकाश राई, सुशील सुबेदी, जितराज राई, कमला राई, लगायतको उपस्थिति रहेको थियो।