धरान : किराँत राई सांस्कृतिक कलाकार सङ्घले विश्वव्यापी रूपमा आयोजना गरेको अनलाइन कोङकोङमा (बिनायो) वादन खुल्ला प्रतियोगिता सम्पन्न भएको छ ।

पहिलो पटक विश्वव्यापी अनलाइनको माध्यमबाट आयोजना गरिएको सो प्रतियोगितामा झापाका बल बहादुर राई प्रथम भएका छन् भने खोटाङकी पम्फा खालिङ राई दितिय र ओखलदुङ्गकी जितुमाया राई तृतीय भएका छन् । प्रतियोगितामा झापाकी मन कुमारी राईले सान्त्वना पुरस्कार पाएकी छिन् । विजेताले १६ हजार, उपविजेताले १० र सान्त्वनाले स्थान प्राप्त गर्नेले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगीमध्ये जन्तेढुंगा गाउँपालिका वडा नं ६ आहाले खोटाङकी ९५ वर्षीय विष्णुमाया राई र हलेसीतुवाचुङ नगरपालिका ५ खोटाङकी ९२ वर्षीय देशलक्षी राईलाई ज्येष्ठ नागरिक सम्मानबाट नगद ५ हजार रुपैयाँ सहित सम्मान गरिएको छ ।

प्रतियोगितामा नेपाल लगायत विभिन्न देशका १ सय ११ जनाले सहभागिता जनाएका थिए । वरिष्ठ गायक ,सङ्गीतकार तथा साहित्यकार गणेश रसिक राईको प्रमुख आतिथ्यमा सम्पन्न फाइनल प्रतियोगिताको परिणाम सार्वजनिक गरिएको थियो ।

वरिष्ठ गायक तथा सङ्गीतकार जितेन राईको संयोजकत्वमा गठित निर्णायक मण्डलका सदस्यहरू किराँत राई सांस्कृतिक कलाकार सङ्घका पूर्व अध्यक्ष पार्वती राई र निवर्तमान अध्यक्ष राजु एन राईको टिमले सो नतिजा घोषणा गरेका थिए ।

किराँत राई सांस्कृतिक कलाकार सङ्घका अध्यक्ष रामकर राईले लोपोन्मुख अवस्थामा रहेको पुर्खाको नासोलाई युवा पुस्तामा हस्तान्तरण गर्नु, कोङकोङमा बाजालाई प्रवर्द्धन गरी दस्तावेजीकरण गर्दै विश्वमा चिनाउनु, कोङकोङमा किराँती समुदायको सभ्यतासँग नजिक रहेको र यसलाई हाम्रा पुर्खाले अपनत्व कायम गर्दै आएको भन्ने दाबी गर्न किराँत राई सांस्कृतिक कलाकार सङ्घले कार्यक्रमको आयोजना गरेको बताए ।

उपाध्यक्ष तथा कार्यक्रम संयोजक रोशन चाम्लिङ राईले यो बाजा कुन उमेर समूहमा लोकप्रिय छ भन्ने विषयमा अध्ययन अनुसन्धान गर्न, कोङकोङमा धुनलाई डकुमेन्टेसन गर्न र कोङकोङमा बाजाको प्याटेन राइटको अधिकार प्राप्त गर्ने अभियानको रूपमा यो कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष जितेन राईले कोङकोङमा सम्बन्धी अवधारणा पत्र प्रस्तुत गरेका थिए भने विशेष अतिथि किराँत राई यायोक्खा केन्द्रीय समितिका महासचिव जनक राई, अक्षयकोषदाता युवाराज राई, किराँत राई यायोक्खा बाग्मती प्रदेशका संयोजक सुमन राई , बम्बुले राई समाजका अध्यक्ष गजुरधन राई, प्रदेश नं १ का प्रदेश सदस्य विना देवी राई र सचिव सुरज मेवाहाङ राई लगायतका वक्ताहरूले बधाई सहित मन्तव्य राखेका थिए । कार्यक्रममा किराँत राई सांस्कृतिक कलाकार सङ्घका उपाध्यक्ष सालिक शतासक राईले स्वागत मन्तव्य राखेका थिए ।