धरान : मेलिना मैनाली पछि गायन रियालिटी सो 'द भ्वाइस अफ नेपाल-३' को नकआउट राउण्डबाट बाहिरिएकी गायिका सुदिता राईलाई पनि आफ्नो बाचा अनुरूप राजेश पायल राईले आफ्नो सङ्गीतमा युगल गीत गाउने मौका दिएका छन्।

गीत रेकर्डिङ सँगै राजेश पायल राई र सुदिता राईको आवाजमा सजिएको ‘लगन’ गीतको भिडियो समेत सार्वजनिक गरिएको छ। प्रशन एलुङ राईको शब्द रहेको गीतमा राजु कार्कीको सङ्गीत संयोजन रहेको छ भने गीतलाई पृथक् रेकर्ड्स स्टुडियोमा अनिल अधिकारी र विवेक रानापाहेलीले रेकर्डिङ साथै गीतलाई राजु कार्कीले नै मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

गीतमा गिटार सञ्जीव सुब्बाले गिटार र रत्न विकले बाँसुरी बजाएका छन् भने गीतको कोरसमा गायिकाद्वय दिपा तामाङ र सङ्गीता रानापाहेलीले स्वर दिएका छन् भने भिडियो छायाङ्कन मनोज राई र दुर्गा बान्तवा राई गरेका हुन्। भिडियो सम्पादन मनोज राईले नै गरेका हुन्।

गायक राजेश पायल राईको आफ्नै अफिसियल यु-ट्युब च्यानलमार्फत शुक्रवार साँझ ५ बजे सार्वजनिक गरिएको उक्त भिडियो कतारमा समेत अहिले ट्रेन्डीङ्गमा रहेको छ । मेलिना मैनालीसँगको गीत चोरी भो पनि सार्वजनिक भएको १० दिनपछि पनि अहिलेसम्म ट्रेन्डीङ्गमा रहेको छ।