धरान : धरानको नेशनल एकेडेमीमा लिम्बु, राई बान्तावा र नेवारी भाषा पढाइने भएको छ।

कलेजले नयाँ विधि र प्रविधिहरूमा सधैँ जोड दिँदै आएको छ। यसै क्रममा सरकारले कक्षा ११ मा सामाजिक शिक्षालाई अनिवार्य बनाए सँगै सामाजिक शिक्षा विषय पढाइलाई परिणाममुखी बनाउन कलेजले यसै शैक्षिक सत्र देखि विधार्थीहरुलाई लिम्बु, राई बान्तवा तथा नेवारी भाषा पढाउने भएको हो।

राज्यले शिक्षा क्षेत्रका उत्पादनहरू सामाजिक परिवेश अनुकूल हुन सकेनन्, उनीहरूको सामाजिक विकास हुन सकेन भन्ने निचोडका साथ माध्यमिक शिक्षा कक्षा १२ सम्म सामाजिक शिक्षा अनिवार्य गरेको र विधार्थीहरुलाई समाज र समुदाय सँग अझ नजिक जोड्न र उनीहरूको सामाजिक विकासमा सहयोग पुर्‍याउन विभिन्न भाषाको शिक्षण सुरु गर्न लागिएको कलेजका सिइओ देव सुब्बाले बताए ।

शिक्षा क्षेत्रलाई बढी पेसा ब्यावसायको रूपमा बुझिएको र हाल अनावश्यक प्रतिस्पर्धा गरी विधार्थीहरुको भविष्य माथि खेलबाड भइरहेको, शिक्षा पैसा, प्रमाण पत्र र फेसनका रूपमा बुझ्न थालिएकाले लिम्बु, राई बान्तवा र नेवारी भाषाको पठन पाठनले नेशनल कलेजले आफ्नो सामाजिक दायित्व पुरा गर्न प्रयास गरेको कलेजका प्रिन्सिपल श्रीसिसा राईले बताए।

यी भाषाको पठनपाठन पूर्ण विषयको रूपमा नभई सामाजिक शिक्षा विषयको उद्देश्य पुरा गर्न सहायक कक्षाको रूपमा सञ्चालन गर्न लागेको बताइएको छ।

स्थानीय सरकार धरान उपमहानगरपालिकाले आफ्नो आ.ब. २०७८/८९ मा बहुभाषा पाठशालाको अवधारणा ल्याएको सन्दर्भमा कलेजले थोरै भए पनि निजी स्तरबाट सहयोग पुर्‍याउन सक्ने कलेजका अध्यक्ष सालिकराम राईले बताए।

नेपालमा धेरै भाषाहरू बोलिएता पनि आफ्नो स्रोत साधनले हाललाई ३ भाषा मात्र सहायक विषयको रूपमा पठनपाठन गर्न लागिएको अध्यक्ष राईले बताए। कलेजले जहिले पनि जीवन उपयोगी शिक्षामा जोड दिएकाले नेशनल एकेडेमी पढ्ने विद्यार्थीहरू समाज, समुदाय, र बजारमा स्थापित हुन सजिलो हुने दाबी गरिएको छ ।

नयाँ प्रविधिहरू भित्र्याउने क्रममा यस अगाडि कलेजले आफ्नो कलेजलाई आइटीमय बनाउन आइटी हार्डवेयर तथा सफ्टवेयर ल्याब समेत निर्माण गरी सकेको छ ।

विद्यार्थी तथा अभिभावकहरूलाई आइटीमुखी बनाउन यसै शैक्षिक सत्रबाट अनलाइन फारम भर्न सकिने व्यवस्था कलेजले गरेको छ। यसमा विधार्थीहरुलाई प्रोत्साहन गर्न विधार्थीहरुलाई अनलाइन फारम भरेमा रिवार्डको समेत व्यवस्था कलेजले गरेको छ ।

यो कलेजले यसै शैक्षिक सत्रबाट सफ्टवेयर कम्पनी कस्मस इन्भाइटेड इन्टरनेशनल प्रा.लि.को सहकार्यमा सूचना प्रविधिलाई पूर्ण रूपमा आफ्नो पठनपाठन तथा कलेज सञ्चालनमा उपयोग गर्दै कलेजले आफूलाई पूर्ण आइटीमय बनाएको छ।

एकेडेमीले कलेजका सम्पूर्ण शिक्षण विधि र प्रशासनिक निगरानीका अनलाइन एकाउन्टिङ, फी पेमेन्ट,आइटी शिक्षण विधि, शिक्षक तथा कर्मचारीहरूको पेरोल, बाओमेट्रिक एटेन्डेन्स प्रणाली, शिक्षणको लागि स्मार्ट इन्टरेक्टिभ बोर्ड तथा अनलाइन जुमिङ कक्षा जस्ता कामहरूमा आइटीको प्रयोग गरेको छ ।