धरान : छैटौँ संस्करणको मिस कोसी प्रतियोगिताकोमा पहिलो चरणको अडिसनबाट १७ जना छनौट भएका छन् ।
विराटनगर र इटहरीमा भएको पहिलो चरणको अनलाइन र भौतिक रूपमा लिएको अडिसनमा ३१ जना किशोरी सहभागी भएका मध्ये १७ जनालाई फाइनलको लागि छनौट गरिएको हो ।
जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा हुन लागेको प्रतियोगिताको विराटनगरमा भएको पहिलो अडिसनमा विराटनगरमा १५ जना सहभागी थिए भने इटहरीमा १६ जनाको सहभागिता रहेको जय मिडिया म्यानेजमेन्ट प्रालिका चियरमेन जय राज रायले जानकारी दिए ।
प्रतियोगिताको दोस्रो र तेस्रो चरणको पनि अडिसन हुने भएको छ । दोस्रो अडिसन विराटनगरमा साउन १५ र १६ गते इटहरीमा हुनेछ । कोभिड १९ को कारणले आयोजकले स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्दै अडिसन गर्दै आएको सिइओ निशा खतिवडाले जानकारी दिइन् ।
‘अडिसनमा भाग लिने किशोरीहरूको लागि हामीले अनलाइनबाट पनि आवेदन लिने गरेका छौँ,’ उनले भनिन्, ‘इच्छुकले अनलाइनबाट पनि यस प्रतियोगिताको अडिसनमा सहभागिता जनाउन पाउनुहुनेछ ।’ किशोरीमा भएको प्रतिभा उजागर गर्नुको साथै व्यक्तित्व विकास गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको फाइनल आगामी भदौ अन्तिम तिर हुनेछ ।
आयोजकले सहभागीहरूको सहजको लागि अनलाइन र भौतिक रूपमा अडिसन लिने गरेको छ । फाइनलमा ३० देखि ३५ जना किशोरी छनौट गरिने आयोजकले तयारी गरेको छ । प्रतियोगिताको विजेताले स्कुटर र विभिन्न गिफ्ट ह्याम्परको पाउनुको साथै पोखरा टुर रहेको आयोजकले जनाएको छ ।