धरान : पूर्वेली लोकभाका दोहोरी गीत ‘डाँडा बजार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

डाँडा बजार’ म्युजिक भिडियो केही दिन अघि युमा आर्ट्स नामक युट्युब मार्फत सार्वजनिक भएको हो।

नायिका तथा मोडल रेखा फागो लिम्बूको अभिनय रहेको सो भिडियोमा रेखासँगै देवेन्द्र लिम्बू, युमन लिम्बू, सुनिता संयाक लिम्बू आधुनिक देवान (भूमिराज) र पदमा माया लिम्बू (सीता राई) को पनि अभिनय रहेको छ।

चलचित्र ‘तारेभिर’ का निर्माता देउकृष्ण देवान लिङ्खा याक्खाको निर्देशनमा बनेको १६ मिनेट ३४ सेकेन्डको म्युजिक भिडियोमा लाहुरे परिवारको माया प्रेमको कथालाई प्रस्तुत गर्न खोजिएको छ । भिडियोमा धनकुटाको डाँडा बजार लाक्चीटार आसपास र तमोर नदी आसपासका पर्यटकीय स्थलहरूको सुन्दर दृश्य कैद गरिएको छ।

चित्र याक्खाको सङ्गीत तथा देवेन्द्र लिम्बू, डीवी लिम्बू, सुनिता संयाक लिम्बू र हिमानी फेवन लिम्बूको आवाज रहेको छ । सुमन तामाङको छायाङ्कन रहेको गीतमा निर्देशक देवानकै कोरियोग्राफी रहेको छ।

चारखोला शिशिर (शिशिर लिंदेन)को शब्द रहेको ‘डाँडा बजार’लाई राम कार्कीले एरेञ्ज गरेका हुन् । गीतलाई म्युजिक मिडिया धरानको स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको भिडियोलाई विकास दाहालले कलरिङ र सम्पादन गरेका हुन्।