धरान : सुनसरीको वराहक्षेत्र ३ हर्दियामा एसिड प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार साउन १२ गते वराहक्षेत्र ३ हर्दिया बस्ने ३० वर्षीय रोमन राजधामीले आफ्नै श्रीमती २८ वर्षीय सरु भनिने सरस्वती बस्नेतलाई चुरोटको विषयमा वाद विवाद हुँदा एसिड प्रहार गर्न खोजेका थिए ।
रोमन राजधामीले एसिड प्रहार गर्न खोज्दा श्रीमती छिमेकी श्यामकुमारी धामीको घरमा सरण लिन पुगेकी थिइन् । हातमा एसिडको बोतल बोकी पछि,पछि लखेट्दै गएका रोमनले बाहिर बाट ढोका खोल भन्दै ढोकामा लात्तीले प्रहार गरेकोमा यस्तो काम नगर भनी सम्झाई बुझाई गर्ने क्रममा रोमनले बोकी ल्याएको एसिड वर्ष ४३ कि श्याम कुमारी धामीको टाउको तथा अनुहारको भागहरूमा प्रहार गरी सक्त घाइते बनाएका थिए ।
उनीसँगै छिमेकी वर्ष २१ को सुमन राजधामी र वर्ष १९ को सुजन राजधामीले छुटाउनेक्रममा उनीहरूलाई समेत एसिडको छिटा लागी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका श्याम कुमारी धामीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचार हुन नसकेपछि थप उपचारको लागी हाल म्याक्स अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था गम्भीर रहेको छ ।
एसिड प्रहार गरेर फरार रहेका रोमन राजधामीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले महानगरीय प्रहरी वृत्त गौशाला काठमाण्डौँको सहयोगमा मिति साउन १५ गते काठमाडौँ गौशाला एरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
राजधामीमाथि एसिड आक्रमण (कुटपिट वा अङ्गभङ्ग सम्बन्धी कसुर) मुद्दामा सुनसरी जिल्ला अदालतबाट पक्राउ परेकै दिनबाट लागु हुने गरी ७ दिन म्याद थप भई अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।





































































