धरान : कोरोना महामारीको बेलामा चेतना प्रवाह गर्ने उद्देश्यले धरानका डा. भवानी शङ्कर भट्टराईले रचना गरेको मास्कं धारय बोलको संस्कृत जनचेतनामूलक गीत तथा त्यसको म्युजिक भिडियो सार्वजनिक भएको छ।

ओएसआर डिजिटल युट्युब च्यानल मार्फत प्रसिद्ध गीतकार कृष्णहरि बरालले उक्त गीत सार्वजनिक गरेका हुन् । संस्कृत गीत लेखन परम्परामा जगत्मा प्रेम, भगवद्भक्ति, जीवनदर्शन आदि विषयमा प्राचीन कालदेखि गीतहरू रचिँदै आएकोमा जनचेतना प्रवाहका क्षेत्रमा यसको छुट्टै महत्त्व रहेको उनले बताए ।

उनले नेपाली सङ्गीतका क्षेत्रमा यो नयाँ परिकारका रूपमा आएकोमा खुसी समेत व्यक्त गरे । संस्कृत विद्वान् तथा गीतकार केशवानन्द स्वामीले यस गीतले प्यारीले आफ्ना प्रियलाई सुललित कोमल भाषामा सम्झाएर सुमार्गमा फर्काउने कोसिस गरेझैँ आम मानिसलाई पनि मास्क लगाएर, साबुन पानीले हात धोएर अनि प्राकृतिक जीवनशैली अपनाएर व्याधिबाट सुरक्षित रहन आग्रह गरेको बताए ।

यस गीतले नागरिकको महामारीजन्य अमङ्गल रोक्नमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आशा व्यक्त गरे । संस्कृत गीतमा अङ्ग्रेजी मास्क शब्द किन प्रयोग गरिएको होला भन्ने धेरै सहभागीहरूको जिज्ञासा हुन सक्छ स्वामीले गीतकारले जे-जसरी प्रयोग गरे पनि विशाल शब्द राशि रहेको संस्कृत वाङ्मयमा एउटा मास्क धातु छ, त्यसमा भावमा घञ्प्रत्यय गरेर मास्क शब्द सजिलै बनाउन सकिने र विषाणु निवारण गर्ने साधन भन्ने अर्थ त्यस शब्दबाट निकाल्न सकिने समेत बताए ।

यसै गरी देवघाट आश्रमका स्वामी श्री १००८ रमणानन्द महाराज, जयतु संस्कृतम्का सदस्यसचिव डा. नवराज कट्टेल, साहित्यकार बद्री लम्साल, समाजसेवी वेदनाथ पन्त, अभिमन्यु अभिजित लगायतले गीत सार्वजनिक भएकोमा शुभकामना दिएका छन् ।

मास्कं धारय गीतलाई विश्व नेपाली, लोचन भट्टराई, नरेश भुर्तेल, बुनु श्रेष्ठ, सङ्केत अगस्थी, श्रेय अगस्थी तथा साक्षी अगस्थीले गाएका छन् । त्यस्तै यसमा दीपाश्री निरौला, रानु निरौला, फयाश्री निरौला, जिबि चिरन, शिशिर भण्डारी, सङ्केत अगस्थी आदिले अभिनय गरेका छन् ।

पूर्वको इनरुवा, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पिण्डेश्वर क्याम्पस धरान एवम् काठमाडौँमा छायाङ्कन गरिएको यस गीतमा ६ मिनेटको म्युजिक भिडियो रहेको छ ।