धरान : धरानको नेशनल एकेडेमीले ग्रामीण भेगका जेहेन्दार विद्यार्थीहरूलाई कक्षा ११ मा छात्रवृत्ति दिने भएको छ।
एकेडेमीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार ग्रामीण भेगका २१ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिनेछ। एकेडेमीमा म्यानेजमेन्ट, एजुकेसन र ह्युमेनिटिज पठनपाठन हुने गरेकोमा प्रत्येक सङ्कायका लागि ७ जना विद्यार्थीलाई छात्रवृत्ति दिइने एकेडेमीले जनाइएको छ। उक्त छात्रवृत्ति सुनसरी, मोरङ, झापा लगायतका तराई बाहेकका ११ वटा जिल्लाका विद्यार्थीहरूलाई लागु हुनेछ।
कक्षा ११ अध्ययन गर्ने चाहने विद्यार्थीको एसइईको प्राप्ताङ्क र अन्तरवार्ताका आधारमा छात्रवृत्तिका लागि विद्यार्थी छनौट गरिनेछ । प्रवेश परीक्षाको प्राप्ताङ्कलाई समेत छनौटको आधार बनाइनेछ। छनौट भई नेशनल एकेडेमी अध्ययन गर्ने विद्यार्थीहरूका लागि एकेडेमी परिसरमै सुविधा सम्पन्न होस्टेलको व्यवस्था समेत गरिएको प्राचार्य राईले बताए।
यससहित एकेडेमीले एसइईमा अब्बल ग्रेड प्राप्त गर्ने विद्यार्थीहरू, दलित, आदिवासी जनजाति, सीमान्तकृत, अव्यवस्थित बसोबास, नृत्य सङ्गीत गायन मोडलिङ साहित्य खेलकुदमा अब्बल विद्यार्थीहरूका लागि समेत छुट्टाछुट्टै छात्रवृत्तिको व्यवस्था गरिएको प्राचार्य राईले बताए । एसइईमा ए प्लस र ए प्राप्त गर्ने विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था उनले बताए ।
दुर्गम क्षेत्रका शिक्षा, यातायात आदीबाट वञ्चित साथै आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीले समेत सहज रूपमा शिक्षा लिने अवसर प्राप्त गरुन् भन्ने उद्देश्यले छात्रवृत्तिको व्यवस्था गरिएको एकेडेमीका सिइओ देवकुमार सुब्बाले बताए। नेशनल एकेडेमीले शिक्षालाई व्यवसाय भन्दा पनि विद्यार्थीको अधिकारको रूपमा प्रसार गर्न चाहेको उनले बताए।
नेशनल एकेडेमीले यस वर्षदेखि लिम्बु, राई बान्तवा र नेवारी भाषा पनि पठनपाठन गराउने भएको यसअघि घोषणा गरिसकेको छ । कलेजले पठनपाठनमा मात्र नभई कार्यालय सञ्चालनमा समेत आधुनिक प्रविधिको उपयोग गर्ने तयारी समेत गरेको जनाएको छ। एकेडेमीले यसै वर्ष आईएसओ प्रमाणपत्र चिन्ह प्राप्त गरेको हो।


































































