धरान : धरान-१ मा रहेको धरान आदर्शले ८ जना फुटबल खेलाडी विद्यार्थीलाई कक्षा-११ मा छात्रवृत्ति प्रदान गरेको छ।
८ जना खेलाडी विद्यार्थीलाई कक्षा ११ मा पूर्ण छात्रवृत्ति प्रदान गरेको प्रिन्सिपल लोकेन्द्र श्रेष्ठले जानकारी दिए । खेलाडी विद्यार्थीहरू सुनिल मगर, सक्षम देवान, निकेश लिम्बू, कबिर तामाङ, पुरन चौधरी, रवि मादेन, पृथ्वी गुरुङ र रमेश मेहतालाई छात्रवृत्ति दिइएको उनले जानकारी दिए ।
‘यी ८ जना विद्यार्थी धरानका विभिन्न स्कुलबाट धरान आदर्शमा कक्षा ११ मा भर्ना भएका हुन्’, उनले भने, ‘धरान आदर्शले पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिने हुनाले यिनीहरूको प्रतिभा फुटबलतिर रहेछ, यिनीहरूको फुटबलमा लगाव र कौसलता रहेको पाइयो, विद्यालयमा पढ्दा पनि उनीहरूले फुटबलमा अब्बलता कायम गरेको पाइयो, त्यही भएर उनीहरूलाई छात्रवृत्ति दिने निर्णय गरयौं ।’
उनले कलेजले फुटबल, भलिबल, गीत, सङ्गीत, नृत्य, क्विज लगायत अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै आएको उनले जानकारी दिए । ‘हामीले अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएका छौँ, हिसान लगायतका संस्थाले आयोजना गरेको विभिन्न अतिरिक्त क्रियाकलापमा हारेका छैनौँ’, उनले भने ।
उनले कक्षा-११ को कक्षा सञ्चालन गरिएको पनि जानकारी गराए । ‘बिहीबारदेखि अनलाइन कक्षा सञ्चालन गरिसकेका छौँ’, उनले भने, ‘अनलाइन कक्षा प्रभावकारी भयो, विद्यार्थीको उत्साहजनक सहभागिता छ ।’


































































