इटहरी : चौधरी ग्रुपले आयोजना गरेको वाइवाइ चाउचाउको ‘वाइवाइ जिङ्गल रिमिक्स प्रतियोगिता’को उपाधि इटहरी-४ निवासी सम्राट भट्टराईले जितेका छन्।
लुकेको प्रतिभालाई प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्देश्य सहित चौधरी ग्रुपले आयोजना गरेको सो प्रतियोगितामा विजेता बनेका सम्राट्ले उपहार स्वरूप नगद रु. १ लाख रुपैयाँ प्राप्त गरेका छन।

वाइवाइले विश्व सङ्गीत दिवस, २१ जुन २०२१ को अवसर पारेर ‘हामी सबैको वाइवाइ’ जिङ्गल रिमिक्स प्रतियोगिता सञ्चालन गरेको थियो । चाउचाउको फेसबुक पेजबाट प्रतियोगिताको सुरुवात गर्दै सामाजिक सञ्जालको माध्यमबाट युवा वाद्यवादकहरु, गायक गायिकाहरू र संगीतकारहरुलाई सहभागिताको लागि आव्हान गरिएको थियो।

विजेता भन्दा बाहेक दोस्रो चरणमा छनौटमा परेका बाँकी ९ जनाले पनि २५/२५ हजार नगद पुरस्कार पाएका थिए । गत जुलाई २१ मा समाप्त भएको प्रतियोगितामा नेपालभरबाट ६२ जनाको रिमिक्स जिङ्गल प्राप्त भएको थियो । प्राप्त जिङ्गलबाट उत्कृष्ट १० जना छनौट गर्दै विजेता छानिएको थियो । विजेता भएका भट्टराईले सो जिङ्गल १५ दिन लगाएर कम्पोज गरेको बताए।

भट्टराईले भने ‘मेहनत निकै लागेको थियो । मेरो कलाको माध्यमबाट सबैको ध्यान केन्द्रित गर्न सक्छ जस्तो चाहिँ लागेको थियो, तर विजेता नै हुन्छु जस्तो लागेको थिएन ।’ ‘दिदीको गिटार बजाउने इच्छा छ, पाएको १ लाखबाट उसलाई गितार किन्दिने र बाँकी पैसा के गर्ने भन्ने बारे केही सोचेको छैन’।

विगत ३-४ वर्षदेखि इटहरीमै रहेर म्युजिक कम्पोज गरिरहेका भट्टराईले जिङ्गलमा सिठी, विभिन्न ईफेक्ट, ड्रम्स लगायत इक्युप्टमेन्ट सहित भोकल हालेका छन् । उनको जिङ्गल १ मिनेट ४५ सेकेन्ड लामो छ।

१ महिनासम्म सञ्चालन गरिएको यो प्रतियोगितामा सहभागी बन्नका लागि युवाहरूलाई ख्यातिप्राप्त गायकहरू जेम्स प्रधान, सञ्जय श्रेष्ठ, नवीन भट्टराई र रोहित क्षेत्रीले प्रेरित गरेका थिए । आयोजक कम्पनीका अनुसार ¥यापदेखि पप, रकदेखि स्थानीय शास्त्रीय सङ्गीतसम्मको विविधतायुक्त झल्किने रिमिक्स जिङ्गलहरु प्राप्त भएका थिए।

बितेको २० वर्षदेखि वाइवाइ नेपाली गीत सङ्गीतको प्रवर्द्धन र नेपाली प्रतिभाको प्रोत्साहनका लागि नेपालभर क्रियाशील रहँदै आएको छ । वाइवाइले सहभागी सबै प्रतियोगीहरूले सङ्गीतको लागि देखाएका उत्साह, कठोर मेहनत र योगदानको कदर गर्दै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेको छ।