धरान : धरान-१४ नारायणपुरमा रहेको संस्कृत विद्या सम्बद्र्धीनी समिति द्वारा सञ्चालित ऋषिकुल विद्यापीठ, गुरुकुल आश्रमलाई विराटनगर भृकुटी चौक निवासी श्री गणेश प्रसाद कोइरालाले आर्थिक सहयोग बापत अक्षयकोष स्थापना गरी दुई लाख रुपैंया आर्थिक सहयोग गरेका छन् ।
यही भाद्र ३ गते गुरुकुल प्राङ्गण भएको कार्यक्रममा उनले आफ्ना स्वं. पिता नरनाथ कोइराला लगायत सम्पूर्ण उद्दारणार्थ उक्त रकम सहयोग गरेको जानकारी दिएका छन् । उक्त कार्यक्रममा समितिका अध्यक्ष पं पुरुषोत्तम भट्टराई, प्रधानाध्यापक प्रभाव भट्टराई, व्यवस्थापन समितिका अध्यक्ष लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो ।
प्राप्त सहयोग रकम गुरुकुलको भौतिक विकास एवं अध्ययनरत विद्यार्थीहरूको लागी आवास भोजन र गुणस्तरीय शिक्षा प्रदान गर्न उपयोग गरिने गुरुकुलका सञ्चालक प्रसन्न भट्टराईले बताए।
नेपालका विभिन्न जिल्लाबाट गुरुकुलमा पढ्न आउने विद्यार्थीहरूलाई आवास र भोजनको प्रबन्धसहित निःशुल्क रूपमा संस्कृत वाङ्मयका व्याकरण, न्याय, ज्योतिष, वेद विषय तथा नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक विषयहरू पनि पढाइने व्यवस्थाका लागि अनेकौँ दाताहरूबाट मुष्टि दान स्वरूप सहयोग प्राप्त हुने गरेको सञ्चालक प्रसन्न भट्टराईले बताए ।
हाल यस गुरुकुलमा ६ कक्षादेखि १२ कक्षासम्म करिब ७० जना विद्यार्थी अध्ययनरत रहेका छन् । यस गुरुकुलबाट हालसम्म दुई सयभन्दा बढी विद्यार्थीले प्रवेशिका तह उत्तीर्ण गरिसकेका छन् ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        















 
         
        

















































 
         
         
        