इटहरी : ३ दिनसम्म इटहरीको सङ्गीत चोक साङ्गीतिक कार्यक्रम चल्यो । आइतबार देखी मंगलबार सम्म चलेको कार्यक्रममा इटहरीका ६ वटा ब्यान्डले सहभागिता जनाए ।

कुनै उत्सव वा हर्षोल्लासमा मात्र हुने गरेका साङ्गीतिक कार्यक्रम यस पटक मानवीयताको लागि आयोजना गरिएको थियो । इटहरीका सङ्गीतकर्मीको टोलीले आयोजना गरेको लाइभ कार्यक्रममा एक युवाको जीवन जोडिएको छ ।

राजु चौधरी बचाउ अभियानले इटहरीमा लाइभ कन्सर्ट गरेको हो । बिर्तामोडको रिदम ब्यान्डका भोकलीस्ट चौधरी बोन म्यारो क्यान्सर पीडित भएकोले उनको उपचारको लागी लाइभ कार्यक्रम आयोजना गरिएको हो ।

उपचारत उनको बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपरेकोले आर्थिक सङ्कलन गर्न लागिएको सङ्गीतकर्मी रिदम कार्कीले बताए । नेपालमा उपचार असम्भव बन्दै गए पछि भारत लैजाने तयारी भएको उनको भनाई छ ।

इटहरीका ६ वटा ब्यान्डले एकै पटक कार्यक्रम गरेर आर्थिक सङ्कलन गरेको उनले जानकारी दिए । एउटा सङ्गीतकर्मीको बचाउमा अन्य सङ्गीतकर्मीको साथ अनिवार्य भएकोले आफूहरू लागिपरेको उनले बताए ।