धरान : धरान उपमहानगरपालिकाले दसैँ तिहार पछि मात्रै विद्यालय सञ्चालन गर्ने निर्णय गरेकोमा सो निर्णयको उल्लङ्घन गर्दै धरानका निजी विद्यालय तथा कलेजहरूले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिरहेको पाईएको छ ।
मङ्गलवार धरानका विभिन्न विद्यालय तथा कलेजहरूमा अनुगमन गर्दा उपमहानगरपालिकाको निर्देशन विपरीत भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिरहेको पाइएको छ ।
धरान उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा अधिकृत मनोज भट्टराई, नगर प्रमुखका स्वकीय सचिव राजेशमान श्रेष्ठ, बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटा, नगर प्रहरी निरीक्षक विष्णु कोइराला सहितको टोली निजी विद्यालय तथा कलेज अनुगमन गर्न गएका थिए ।
मेयर तिलक राईको अध्यक्षतामा गएको भदौ ३१ गते बसेको कार्यपालिकाको बैठकले धरानमा कोरोना महामारी अझै नियन्त्रण हुन नसकेको भन्दै दसैँ, तिहारपछि मात्र विद्यालय तथा कलेजहरू खुलाउने निर्णय गरेको थियो ।
अधिकृत मनोज भट्टराईले आज धरानका चार वटा निजी स्कुल तथा कलेजहरूमा गएर अनुगमन गरिएको जानकारी दिए । उनका अनुसार विष्णु मेमोरियल, समिट सेकेन्डरी स्कुल, धरान आदर्श र युरेका स्कुलमा अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा विष्णु मेमोरियलमा विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन भइरहेको पाइएको थियो । बिहानको सिफ्टमा कक्षा ११ र १२ को भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरिएको विष्णु मेमोरियलले स्वीकार गरेको उनले बताए ।
उक्त स्कुलले भोलिदेखि पठनपाठन रोक्ने प्रतिबद्धता गरेको अधिकृत भट्टराईले जानकारी दिए । यस्तै, समिट सेकेण्डरी स्कुलले पनि नर्सरी र केजीको विद्यार्थीलाई दिउँसोको सिफ्टमा भौतिक उपस्थिति मै पठनपाठन सञ्चालन गरिरहेको भेटिएको थियो ।
समिटमा नर्सरी र केजीका विद्यार्थी बाहेक अन्य कक्षाका विद्यार्थीलाई भने अनलाइन माध्यमबाट पठनपाठन गराइरहेको पाईएको अधिकृत भट्टराईले जानकारी दिए । अनुगमनका क्रममा धरान आदर्शमा भने कक्षा ११ र १२ को परीक्षा सञ्चालन भइरहेको भेटिएको थियो ।
अधिकृत भट्टराईका अनुसार युरेका स्कुलमा भने पठनपाठन भएको देखिएको थिएन । अनुगमनका क्रममा स्कुल तथा विद्यालय अहिले सञ्चालन नगर्न निर्देशन दिइएको उनले जानकारी दिए । “अनुगमनलाई निरन्तरता दिनेछौँ, भोलि पनि अनुगमनमा जान्छौँ, कडाइका साथ अनुगमन गर्छौ, नगरपालिकाको निर्देशन विपरीत विद्यालय तथा कलेजहरूमा पठनपाठन भइरहेको पाइएमा कारबाही पनि गर्छौ,” अधिकृत भट्टराईले भने ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले धरानमा विद्यालयहरूमा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने भन्दै आज एक विज्ञप्ति नै जारी गरेको छ ।
उपमहानगरपालिकाले भौतिक रूपमा विद्यालय सञ्चालन नगरी वैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाई सहजीकरण कार्यलाई निरन्तर अगाडी बढाउन निर्देशन दिएको थियो ।
धरानका कतिपय विद्यालयहरूले भौतिक रूपमा नै विद्यालय सञ्चालन गरिरहेका, अभिभावक तथा विद्यार्थीहरूलाई सूचना गरी विद्यालयमा बोलाउने गरेको गुनासोहरू नगरपालिकामा आएका कारण तत्काल भौतिक रूपमा पठनपाठन बन्द गरी वैकल्पिक प्रणालीबाट विद्यार्थीहरूको सिकाई सहजीकरण लाई निरन्तर अगाडी बढाउन विज्ञप्तिमार्फत निर्देशन पनि दिइएको छ ।