धरान : इलाका प्रहरी कार्यालय पथरी, मोरङ दरबन्दी भई प्रहरी चौकी अमाहिबरियाती मोरङमा कार्यरत प्रहरी हवलदार हुमेन्द्र प्रसाद यादव असोज महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी वेस्ट पुलिस अफ द मन्थ घोषित भएका छन् ।

विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै अपराध गरी वारदात पश्चात् फरार रहेका प्रतिवादीहरू, विभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ तथा कानुनी कारबाहीको दायरामा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै आम नागरिकहरूमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय पथरी, मोरङ दरबन्दी भई प्रहरी चौकी अमाहिबरियाती मोरङमा कार्यरत प्रहरी हवलदार हुमेन्द्र प्रसाद यादवलाई उनले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७८ साल असोज “महिनाको सर्वोत्कृष्ट प्रहरी” वेस्ट पुलिस अफ द मन्थ घोषणा गरिएको हो ।

प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरू मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिन्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय “क“ स्तरसम्मका प्रहरी कार्यालयहरूमा १ महिना सम्म राखिँदै आइएको छ ।