झापा : झापामा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।
कार्तिकको सुरुवातमै बेमौसमी वर्षापछि आएको बाढीले उत्पादन घट्ने आङ्कलन गरिएको थियो ।

यद्यपि उत्पादनमा अघिल्लो वर्ष भन्दा नघटेको कृषि ज्ञान केन्द्रका कृषि विज्ञ सालिकराम भट्टराईले जानकारी दिए ।

झापामा अघिल्लो वर्ष ८५ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा धान रोप्दा ४ लाख १५ हजार ६ सय २५ मेट्रिक टन फलेको थियो । यो वर्ष धान रोप्ने जमिनको क्षेत्रफल पनि बढेको छ । ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा रोपिएको छ । यसबाट मङ्सिर २२ गते सम्ममा ४ लाख २३ हजार ९ सय ६६ मेट्रिक टन उत्पादन भइसकेको छ ।

अझै केही पालिकाहरूले त्यहाँ उत्पादन भएको धानको तथ्याङ्क नपठाइसकेकोले पुसको पहिलो साता सम्ममा एकमुष्ट तथ्याकं आउने ज्ञान केन्द्रले जनाएको छ । यो वर्ष ४ लाख ६६ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान ज्ञान केन्द्रको छ । यो वर्षको बेमौसमी वर्षाले ४६ हजार ७ सय ९२ मेट्रिक टन उत्पादन घटाएको ज्ञान केन्द्रले तथ्याकं निकालेको छ ।

बाँसमती धानमा किसानको आकर्षण :
झापामा सबैभन्दा बढि भारतीय जातको रञ्जित धान उत्पादन हुन्छ । तर पछिल्लो समय झापामा बाँसमती धानको पनि उत्पादन बढ्न थालेको छ ।

पहिलो चरणमा झापालाई बाँसमती धानमा पूर्ण आत्मनिर्भर बनाउने लक्ष्यका साथ व्यवसायीक रूपमै उत्पादन थालिएपछि यसको उत्पादन पनि बढ्न थालेको हो ।

झापाको गौरादह नगरपालिका ७ मा राष्ट्रिय खाद्य बैकले कालो नुनिया १० बिगाहामा, कालो बाँसमती १० बिगाहामा, इन्द्रबली १६ बिगाहामा, रातो बाँसमती ५ बिगाहामा र ९ बिगाहामा कालो नुनिया बाँसमती धान रोपेको छ ।

बैङ्कले आफ्नो पहिलो पाइलट प्रोजेक्टको रूपमा गौरादहमा सुरु गरेको धान खेतीको उत्पादन सोचेभन्दा राम्रो देखिएको छ । अहिले यहाँ लगाइएको धान धमाधम काट्ने काम चलिरहेको छ । काटिसकेपछि खाली भएको जमिनमा बैङ्ककै अन्य योजनामा सहयोग पुग्ने गरी बाली रोपिने बैङ्कका सञ्चालक समिति सदस्य ईश्वर लुइँटेलले जानकारी दिए ।

पहिलो पटक भएकोले यो वर्ष ५० बिगाहामा बाँसमती धान लगाइएको छ । जापानीज प्रविधिबाट खेती गरिएको हुनाले यहाँ उत्पादन सन्तोषजनक भएको बैकको भनाई छ । उत्पादन बढी भएको देखेर यहाँका अन्य किसानले पनि बैकसँग साझेदारी गरेर खेती गर्ने भन्दै सम्पर्कमा आउने क्रम बढ्न थालेको छ ।

अव आगामी वर्ष धान खेती गर्दा २ सय बिगाहामा गरिने बैकका अध्यक्ष शंखरनाथ उप्रेतीले बताए । यही क्रममा बढ्ने हो भने झापामा २ वर्ष भित्रमा ५ सय बिगाहा क्षेत्रफलमा बाँसमती धान मात्रै रोप्ने र रैथाने जातको धानलाई प्रवर्धन गर्ने योजना बनाएको उनले सुनाए ।

झापामा १२ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातको बाँसमती धान खेती हुने गरेको छ । केही धनाड्डे परिवारले यसको खेती गर्न लगाउने गराएको भए पनि यसको व्यवसायीक उत्पादनमा लाग्नेको सङ्ख्या भने निकै कम रहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।