धरान : धरानको भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा विकास गर्ने उदेश्यले स्थानीय सरकार धरान उपमहानगरपालिकाद्वारा २०७४ सालमा गठित धरान प्रज्ञा प्रतिष्ठानले धरानको भाषा, साहित्य, कला अन्तर्गत सङ्गीत, नाट्य, नृत्य र ललितकला तथा संस्कृतिको क्षेत्रमा अनवरत लागिरहनु भएका ५ जना अग्रज सर्जकहरूलाई सम्मान तथा अभिनन्दन गर्ने भएको छ ।
आगामी पौष ९ गते धरान-८ स्थित धरान सभागृहमा रहेको प्रज्ञा प्रतिष्ठानको सभा हलमा धरानका अग्रज स्रष्टाहरू भाषासहित्यतर्फ गिरिराज आचार्य, ललितकलातर्फ गोपाल शाक्य, सङ्गीततर्फ गंगा वरदान, नाट्यकलातर्फ प्रेम सुब्बा र नृत्यकलातर्फ नगेन्द्र राईलाई जनही २० हजार पुरस्कार सहित सम्मानित गरिनेछ भने धरानका वरिष्ठ साहित्यकार श्री शरणकुमार राईलाई अभिनन्दन गरिने धरान प्रज्ञा प्रतिष्ठानले जानकारी दिएको छ ।
कार्यक्रमका संयोजक प्रज्ञा सदस्य हिमाल राईका अनुसार प्रतिष्ठानले धरानका अग्रज सर्जकहरूलाई सम्मान तथा अभिनन्दन गर्ने परम्पराको सुरुवात गरेको भए पनि गत वर्ष कोरोना कहरका कारण स्थगित हुन पुगेको थियो ।
प्रतिष्ठान संयोजक अम्बिकाकुमार सम्बाहाम्फेले सम्मान तथा अभिनन्दन कार्यक्रमलाई निरन्तर जारी राखिने बताउँदै अघिल्लो पटक स्व. बी. ए. कृष्ण श्रेष्ठलाई अभिनन्दन, भाषातर्फ प्रा.डा. टङ्क न्यौपाने, साहित्यतर्फ बम देवान, सङ्गीततर्फ जीवन भट्टराई, नाट्यकलातर्फ शारदा शाक्य, ललितकलातर्फ प्रनोद दत्त र नृत्यतर्फ मणि राईलाई सम्मान गरिएको थियो ।



































































