इटहरी : इटहरीमा यही माघ पहिलो सातादेखि नगरपालिका गोल्ड कप २०७८ हुने भएको छ ।
शुक्रवार इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको बाहुलीबाट शिल्ड अनावरण गर्दै आयोजक एरिना टेलिभिजनले प्रतियोगिताबारे जानकारी दिएको हो ।
कोभिड १९ का कारण थला परेको खेल क्षेत्र बिस्तारै तङ्ग्रिँदै गरेको अवस्थामा खेलाडी र खेल क्षेत्रको विकासमा थप सहयोग गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले बताएको छ ।
प्रतियोगिताबारे जानकारी दिँदै एरिना टेलिभिजनका प्रबन्ध निर्देशक समीर कार्कीले यसअघि पनि टेलिभिजनले विभिन्न खेल र मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरिसकेको बताउँदै त्यसैको निरन्तरता स्वरूप खेल विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।
त्यस्तै प्रतियोगिताको सफलताको शुभकामना दिँदै इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले नगरपालिका गोल्ड कपले नगरपालिकाहरूले खेल क्षेत्रमा गरेका कार्यहरूको मूल्याङ्कन समेत हुने बताइन् । उनले इटहरी उपमहानगरले प्रतियोगितामा सहभागिता जनाउने बताउँदै सम्भव भएसम्म प्रदेश १ बाहिरका नगरपालिकाहरूलाई पनि प्रतियोगितामा समावेश गर्न सुझाव दिइन् ।
हालसम्म प्रतियोगितामा ८ वटा नगर सहभागीताका लागि इच्छुक रहेको आयोजकको भनाइ छ । इटहरी स्थित जनता मा.वि.को खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको विजेताले शिल्ड र नगद १ लाख ५० हजार रुपैयाँ र उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        