विराटनगर : प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा अक्सिजनको अभाव नहुने गरी सरकारले प्रबन्ध मिलाएको छ ।

सामाजिक विकास मन्त्री जयराम यादवले कोभिड अस्पतालमा अक्सिजनको अभाव नहुनेगरि प्रबन्ध गर्नका लागि आज मन्त्रालयमा अक्सिजन आपुर्तीकर्ताहरुसँग छलफल गरेका छन् । आपूर्तिकर्ता उद्योगका प्रतिनिधिहरूले मन्त्री यादव समक्ष कोभिड अस्पतालमा अक्सिजनको कुनै अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री यादवले मारुती अक्सिजन इण्डस्ट्रिज, भाजुरत्न र विनायक अक्सिजन इण्डस्ट्रिजका प्रतिनिधिहरूसँग छलफल गरेका हुन् । उनले कोभिड अस्पतालमा अक्सिजनको आपूर्तिका लागि पहिले गरेको कार्यका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सोही अनुसारको सेवा दिन आपुर्तीकर्ताहरुलाई आग्रह गरे ।

मन्त्री यादवसँगको छलफलमा भाजुरत्नका केदार श्रेष्ठ, मारुतीका विवेक अग्रवाल र विनायकका मनोज ढकाल सहभागी थिए । आपुर्तीकर्ताहरुले अक्सिजनका खाली सिलिन्डरहरू समयमै उपलब्ध गराइदिनु पर्ने बताएका थिए ।

प्रदेश सरकारले कोभिड अस्पतालमा ७६ बेड विस्तार गरेको छ । यसअघि ९६ बेडको अस्पताल सञ्चालनमा थियो ।