धरान : सत्तारुढ गठबन्धनको प्रमुख घटक जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक कुमार राईले जेठमा हुने भनिएको स्थानीय तहको चुनावमा गठबन्धन दलहरू बिच तालमेल हुने बताएका छन्। सत्ता सहभागी दलहरूको शनिवार बसेको दोस्रो बैठकले २०७९ जेठमा स्थानीय तहको चुनाव गर्न सहमति कायम गरे लगत्तै धरानमा आइतबार आयोजित पत्रकार भेटघाटमा वरिष्ठ नेता राईले उक्त कुरा बताएका हुन् । निर्वाचनको मिति भने घोषित भैसकेको छैन।

स्थानीय चुनावमा सिटको तालमेल गर्न धेरै कठिन भएता पनि गठबन्धनको संस्कृतिलाई प्रदेश र संसद्को चुनाव सम्म अघि बढाएर लैजाने उद्देश्य अनुसार स्थानीय चुनावमा पनि तालमेलको सहमतिका लागि प्रयास गरिने उनले बताए । उनले भने ‘स्थानीय तहको चुनावमा तल्लो तह देखी धेरै प्रतिनिधित्वका लागि धेरैको सहभागिता हुने भएकाले सहमति कठिन हुने भएता पनि तालमेलको प्रयास भने हुन्छ ।’ गठबन्धनको बारेमा बाहिर जस्तो सुकै कुरा आए पनि यसलाई संसदीय चुनाव सम्म लिएर जाने कुरामा विवाद नभएको उनको भनाई छ।

गठबन्धन सरकार चुनाव पछि सार्ने पक्षमा नभएको बताउँदै वरिष्ठ नेता राईले भने ‘संविधान र ऐन बाझिएकाले संविधान वा ऐनको कुरालाई कार्यान्वयन गर्ने कुरमा छलफल भएको हो ।’ संविधान र ऐन बाझिएको हो भने यसको निरूपणका लागि संवैधानिक अदालतm सम्म जानुपर्ने हुन्छ । यसलाई अन्योलमा राख्न हुन्न। संविधानको भावना अनुसार ऐनमा संशोधन गरेर जेठमा चुनाव गर्ने सहमति भएको हो भने पार्टीलाई आपत्ति नभएको उनले बताए।

हालै सम्पन्न प्रदेश १ को राष्ट्रिय सभा सदस्य चुनावमा गठबन्धनको उम्मेदवार पराजित भएको घटना गठबन्धन भित्र अन्तर्घात नभएर व्यक्तिले पार्टीको ह्विप उल्लङ्घन गर्दा भएको उनले बताए । प्रदेश सांसद तथा मतदाता पार्टीबाट निर्वाचित भएकाले मतदानमा स्वतन्त्र मतदाता हुँदैन । उसले पार्टीको निर्देशन ह्विप उल्लङ्घन गर्न मिल्दैन । पार्टी निर्देशन अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही हुनसक्ने सङ्केत गर्दै उनले यो घट्नाबाट गठबन्धनलाई नकारात्मक प्रभाव नपर्ने बताए । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ को निर्वाचन परिचाल समितिमा वरिष्ठ नेता राई संयोजक थिए।

प्रदेश १ को नामकरणको सवालमा वरिष्ठ नेता राईले पार्टीको स्पष्ट मान्यता किरात-लिम्बुवान वा लिम्बुवान-किरात र त्यसमा शेर्पालुङ थप्ने भएको बताए । उनले भने ‘प्रदेश १ को सिमाङ्कन पहिचानको आधारमा भएको छैन, प्रशासनिक आधारमा मात्र सिमाङ्कन भएकोले पहिचानको संयुक्त नाम उचित हुन्छ ।’ जनता समाजवादी पार्टीको १० प्लस १ प्रदेशको स्पष्ट मान्यता रहेको बताउँदै उनले प्रदेश १ को भूगोलमा किरात, लिम्बुवान र शेर्पालुङ परेकाले नामकरणमा तिन वटै पहिचान खुल्नु सर्वोत्तम हुने बताए। उक्त तथ्य मदन परियारको राज्य पूनसंरचना सम्बन्धी संवैधानिक आयोगको प्रतिवेदनमा उल्लेख भएको वरिष्ठ नेता राईले बताए।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद् चल्न नदिई अवरुद्ध गर्दै आएको प्रवृत्तिलाई ‘बालहठ’ भने जस्तै ‘वृद्धहठ’ भएको र त्यसले सङ्घीयता कार्यान्वयनलाई प्रभावित गर्न खोजेको आरोप लगाए । वरिष्ठ नेता राईले भने ‘सङ्घीयता लागु गर्न तिन सय बढी कानुन बनाउनु पर्ने दायित्व सांसदलाई छ, तर पटक पटकको संसद् अवरुद्ध गर्ने प्रवृत्तिले त्यसलाई अवरुद्ध गर्दा आएको छ।’ अघिल्ला सरकारका पालामा पनि संसद् अवरुद्ध हुँदै आएकोले कानुन बनाउने काममा ढिलाइले सङ्घीयता लागु गर्ने काममा रोकावट आएको उनको भनाई छ।