धरान : याक्थुङ भाषा र सिरिजङ्गा लिपिका विकासकर्ता, उत्थानकर्ता एवम् प्रचारक सिरिजङ्गा सिं थेबेको योगदानमा केन्द्रित पुस्तक 'सरिजङ्गा, फाल्गुननन्द र इमानसिंह चेम्जोङका लेखोट' धरानमा एक कार्यक्रमबिच विमोचन भएको छ ।

अर्जुनबाबु माबोहाङ र अमित थेबे मिहाङद्वारा लिखित 'सिरिजङ्गा, फाल्गुननन्द र इमानसिंह चेम्जोङका लेखोट’ पुस्तकलाई प्रदेश नम्बर एकका प्रमुख परशुराम खापुङले एक समारोहका बिच आज धरानमा विमोचन गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले इतिहास निर्माण गर्नु गाह्रो कुरो हो भन्दै यो पुस्तक सिरिजङ्गाको बारेमा खोज अनुसन्धानका लागि एउटा कोसेढुंगा भएको बताए । लिम्बु जातिको गहन विषयमा पुस्तक लेखिएको भन्दै प्रमुख खापुङले इतिहास सँग जोडिएको विषयमा पुस्तक तयार भएकोमा लेखक द्वय अर्जुनबाबु माबुहाङ र अमित थेबे मिहाङलाई धन्यवाद पनि ज्ञापन गरे ।

कार्यक्रममा लेखकको तर्फबाट आफ्नो भनाई राख्दै अर्जुनबाबु माबुहाङले करिब दश वर्षअघिदेखि सिरिजङ्गा लिपिका बारेमा पुस्तक लेख्ने हाम्रो मनसाय थियो । सिरिजङ्गाका बारेमा खोज्न केही वर्ष अगाडिदेखि ताप्लेजुङको सिनाम, तेल्लोकदेखि सिक्किम सम्म पुगेको बताए ।

सिरिजङ्गाका लेखोटमा याक्थुङ्वा लिम्बू जातिका देवारीहरू फेदाङ्मा, साम्बा, येबा/येमाले आजसम्म वाचन गर्दै आएका मुन्धुमहरू लेखिएका छन्, छैनन् र छन् भने कस्तो अवस्थामा छन् वा हिजो सिरिजङ्गाले लेखेको मुन्धुम र मौजुदा देवारीहरूले भनेको मुन्धुममा भाषागत र कथ्यगत फरक कस्तो छ ? यस विषयमा व्यापक खोज अनुसन्धान गरेर पुस्तक तयार भएको माबुहाङले बताए ।

खोजी गर्नेक्रममा गाउँघरमा सरिजङ्गा लिपि अभ्यास गरेका केही लेखोटहरू भेटिएको र केही वंशावलीमा सिरिजङ्गाको नाम पनि भेटिएको उनले बताए ।

सिरिजङ्गाले लेखेका सक्कल लेखोट भने नपाएको बताउँदै लेखक माबुहाङले त्यसैले हाम्रो लेखन सिरिजङ्गाका बारेमा सुनिएका लोकोक्तिलाई टिपोट गर्ने र सिरिजङ्गाका बारेमा क-कसले के-के लेखेका छन् र सिरिजङ्गाका संकलित लेखोटमा के-के लेखिएका छन्, त्यसको अध्ययन गर्न आफूहरू केन्द्रित भएको बताए ।

पुस्तक लेख्नेक्रममा विभिन्न लेखोटहरू र स्थलगत अध्ययन र विद्धवानहरुको भनाईका आधारमा निकै लामो मेहनत र सङ्घर्षका बाबजुद सिरिजङ्गा, फाल्गुननन्द र इमानसिंह चेम्जोङका लेखोट तयार पारी पाठक सामु ल्याएको लेखक माबुहाङले बताए ।

कार्यक्रममा पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले पछिल्लो समय सिरिजङ्गा लिपिलाई किरात सिरिजङ्गा लिपि बनाइएकोमा विवाद भइरहेकोले यो पुस्तकले थप आधार दिएको बताए ।

कार्यक्रममा युमा साम्यो महासभा नेपालका महासचिव डा. रमेश इजमले पछिल्लो समय सिरिजङ्गा लिपिको बारेमा भइरहेको विवादका बारेमा हचुवाको भरमा किरात सिरिजंगा लिपि बनाइएको बताए । यो विषयलाई पनि यो पुस्तकले थप प्रमाणित गर्ने बताए । पुस्तकको टिप्पणी डा. रामनारायण कन्दङवाले गरेका थिए ।