इटहरी : विराटनगर स्थित नोबेल मेडिकल कलेजका विद्यार्थीले काठमाण्डौमै पुगेर आन्दोलन जारी राखेका छन् । 

विराटनगरबाट आन्दोलनको सुनुवाइ नभएपछि उनीहरूले राजधानी काठमाडौँ बाटै दबाब बढाएका हुन् । 

पढाई स्थागीत गरेर आन्दोलनमा होमिएका विद्यार्थीहरू अझै थाकेका छैनन् । विद्यार्थीको आन्दोलनलाई टेवा पुर्‍याउन संसदीय समितिमा छलफल सुरु भएको छ । सोमबारको बैठकमा एक हप्ता भित्र कलेजमा पढ्ने वातावरण बनाउनुपर्ने निर्देशन दिएको छ । 

समितिका अधिकांश सदस्यहरूले कलेजले कानुन हातमा लिएर विद्यार्थीमाथि अत्याचार गरेको बताएका थिए । कलेजले मानसिक र भौतिक हिसाबले टर्चर गरेकाले विद्यार्थीहरू अन्यत्र बढ्न पाउनुपर्ने माग राख्दै आएका छन् । 

समितिले भने सोही कलेजमा बढ्ने वातावरण सृजना गरी अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने र आगामी दिनमा कुनै पनि दबाब नदिने प्रतिबद्धता जनाउनुपर्ने बताएको छ । 

जिल्ला प्रशासन कार्यालय देखी प्रधानमन्त्री कार्यालयसम्म छलफल हुँदा समेत निकास पाउन नसकेको विद्यार्थीको गुनासो छ । उनीहरूले यस अघिनै  प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगमा निवेदन दिएको बताएका छन् । 

नियम सङ्गतले पढ्न पाउने र कक्षा लिन पाउने अधिकारबाट वञ्चित भएको आन्दोलनरत विद्यार्थी सदिक्षा चापागाईँले बताइन् । कक्षा सञ्चालन भएको २ महिना बढी भई सक्दा समेत अतिरिक्त शुल्क नबुझाएकै कारण पढ्न नपाएको उनको भनाई छ । 

सबै निकायबाट आश्वासन मात्र पाएको तर अभिभावकलाई धम्की पूर्ण फोन आउन थालेको उनको गुनासो छ । नोबेल मेडिकल कलेजमा पढ्न नसक्ने भन्दै अन्तै स्थानान्तरणको माग राखेको उनले सुनाइन् । अतिरिक्त शुल्कको विषयबाट सुरु भएको आन्दोलन शैक्षिक सुरक्षा र भौतिक सुरक्षामा पुगेको छ ।