चतरा : सुनसरीको वराहक्षेत्र नगरपालिकामा नेपाली काँग्रेसका रमेश कार्की मेयर र नेकपा एमालेकी नन्दकुमारी राई उपमेयरमा निर्वाचित भएका छन् । शनिवार राति सम्पन्न मत गणनामा नगर प्रमुखमा काँग्रेसका रमेश कार्की निर्वाचित भएका छन्।उपप्रमुख एमालेकी नन्दकुमारी राई निर्वाचित भएकी हुन् ।
प्रमुखमा निर्वाचित कार्कीले एमालेका निलम खनाललाई ५ हजार १ सय ३९ को मतान्तरले पराजित गरेका छन्। कार्कीले १९ हजार २ सय ९३ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी खनालले १४ हजार १ सय ५८ मत मात्र पाए । खनाल वराहक्षेत्र नगरपालिकाका निवर्तमान नगर प्रमुख हुन् ।
खनालले २०७४ सालको स्थानीय तह निर्वाचनमा काँग्रेसका बाबुराम विष्टलाई २९ सय ५७ मतले पछाडि पार्दै विजयी भएका थिए । अहिले उनै खनाललाई काँग्रेसका कार्कीले ५ हजार १ सय ३९ भारी मत अन्तरले हराउँदै नगर प्रमुख निर्वाचित भएका छन् । उपप्रमुखमा निर्वाचित एमालेकी राईले १५ हजार ७ सय ६६ मत पाइन । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन दलबाट माओवादी केन्द्रका अमित गौतमले १० हजार ५ सय ४४ मत प्राप्त गरेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचन ११ वटा वडा रहेको वराहक्षेत्रमा एमालेले ८ वटा वडा सहित मेयर र उपमेयर सहित बहुमत सदस्य विजय हासिल गरेको थियो । तर २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेलाई गठबन्धनको साथ पाएको काँग्रेसले उपप्रमुख सहित ३ वटा वडाध्यक्ष र २० जना नगर सभा सदस्यमा खुम्चाई दिएको छ।
वराहक्षेत्रको वडाहरूमा १ मा नेकपा एमालेका किसान मगर, २ मा नेकपा एमालेका होमप्रसाद गौतम, ३ मा गठबन्धनबाट नेपाली काँग्रेसका राजदिप लामा, ४ मा नेकपा एमालेका आशाराम चौधरी, ५ मा नेपाली काँग्रेसका रोहित काफ्ले, ६ मा गठबन्धनबाट नेपाली काँग्रेसका उद्धवप्रसाद पोखरेल, ७ मा गठबन्धनबाट नेपाली काँग्रेसका कपिल आचार्य, ८ गठबन्धनबाट नेपाली काँग्रेसका गठबन्धनबाट रोशन खड्का, वडा नं ९ मा गठबन्धनबाट नेपाली काँग्रेसका निरञ्जन चन्द्रवंशी, वडा नं १० मा गठबन्धनबाट नेपाली काँग्रेसका तेजबहादुर गुरुङ र ११ मा नेपाली काँग्रेसका कृष्णकुमार महतो विजयी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ।