चतरा : सुनसरीको वराहक्षेत्र नगरपालिकाले नगरमा रहेका सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक स्थितिको निरीक्षण एवम् अनुगमन गर्न सुरु गरेको छ । नगरपालिकाको सामुदायिक विद्यालयको गुणस्तर बढाउने अभियानलाई सार्थक बनाउन नगर प्रमुख रमेश कार्की र उपप्रमुख नन्दकुमारी राई सामुदायिक विद्यालयको अनुगमनमा निस्किएका हुन् । 
सोमवार नगर प्रमुख कार्की र उपप्रमुख राईको टोलीले वराहक्षेत्र-८ को कोसी माध्यमिक विद्यालय, वराहक्षेत्र-१० प्रकाश माध्यमिक विद्यालय, वराहक्षेत्र-११ को मोहन माध्यमिक विद्यालय पुगेर अनुगमन तथा अवलोकन गरेका छ ।
नगर प्रमुख र उपप्रमुखको टोलीले विद्यालयमा रहेका शिक्षक, विद्यालयको हाजिरी, कक्षा कोठा, बिद्यार्थीसंग छलफल, विद्यालयको प्रशासनिक र भौतिक संरचनाको अनुगमन र अवलोकन गरेका थिए ।
सामुदायिक विद्यालयबाट प्रधान गरिने शिक्षाको गुणस्तर बढाउन र भौतिक संरचनाको जानकारी लिन स्थलगत अवलोकन सुरु गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । विद्यालयको प्रशासनिक कार्य र विद्यालयहरू सँग  छलफल समेत विद्यालयमा पुगेर गरिएको नगर प्रमुख कार्कीले बताए ।