चतरा : वराहक्षेत्र-२ चतरा स्थित चतरा अस्पतालको निर्माणाधीन भवनमा निर्माण कम्पनीले गुणस्तरहीन सामाग्रीको प्रयोग गरेको स्थानीय सरोकारवालाहरूले गुनासो गरेका छन् ।  

निर्माण कार्यमा कम्पनीले इँटा, बालुवा कम गुणस्तरको र निर्माण कार्यमा समेत लापरबाही गरेको स्थानीय अमर कटुवालले बताए । निर्माण कार्यको सुरुवाती चरणमा रहेको अस्पताल भवनमा कम गुणस्तरीय सामाग्री प्रयोग भएको गुनासो आएपछि वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की इन्जिनियर सहितले स्थलगत  निरीक्षण गरेका छन् । आइतबार निर्माणस्थल पुगेका नगर प्रमुख कार्कीले निर्माण कम्पनी, स्थानीय, अस्पताल प्रशासनसँग छलफल गरेका थिए । भवन निर्माणमा प्रयोग भएको सामाग्री समेत नगर प्रमुख कार्कीले अवलोकन गरेका थिए ।

भौतिक संरचनालाई दिगो बनाउन गुणस्तरीय सामाग्री प्रयोग र सम्झौता अनुसार काम गर्न निर्माण कम्पनीलाई नगरप्रमुख कार्कीले निर्देशन दिएका थिए । उनले स्थानीय र अस्पताल प्रशासनलाई भवन निर्माणको जानकारी लिन आग्रह गरेका थिए । नगरपालिकाको इन्जिनियरबाट सामाग्रीको रिपोर्ट आए पछि मात्र काम सुरु गर्न निर्माण कम्पनीलाई आग्रह समेत गरिएको छ ।

निरीक्षणमा नगर प्रमुख कार्की सहित वडा नं २ का वडाध्यक्ष समेत रहेका चतरा अस्पतालका व्यवस्थापन समिति अध्यक्ष होम प्रसाद गौतम, कार्यालय प्रमुख योगेन्द्र कट्टेल लगाएले निर्माण कम्पनीका प्राविधिकसँग सामाग्री बारे जानकारी र ध्यानाकर्षण गराएका थिए ।

संङ्घिय सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले एकैसाथ ३ सय ९६ स्थानीय तहमा अस्पताल भवनको शिलान्यास गर्ने योजना अनुसार वराहक्षेत्र नगरपालिकाको चतरामा पनि भवन निर्माणको प्रक्रिया अगाडि बढेको थियो । उक्त अस्पताल भवनको शिलान्यास सुनसरी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य जयकुमार राईले गरेका थिए ।  

हाल चतराको हाटखोलामा रहेको अस्पताललाई व्यवस्थित बनाउन सखुवागाछि नजिक सुनसरी-मोरङ आयोजनाको जमिनमा भवनको शिलान्यास भएको थियो । अढाई वर्ष भित्र अस्पताल बनी सक्ने योजना रहेको छ ।