इटहरी : दुई महिनादेखि इटहरीमा जारी शिक्षा सुधार अभियानले सामुदायिक विद्यालयमाथि प्रहार गरेको आरोप लागेको छ । 

सामाजिक अभियन्ताहरूले शैक्षिक क्षेत्र सुधारको माग राख्दै अभियान चलाएका हुन् । विभिन्न निजी, सामुदायिक तथा सरकारी विद्यालयमा पुगेर ज्ञापन पत्र बुझाउँदै अभियान सुरु भएको हो । मुलत: इटहरीको जनता उच्च माविमा अङ्ग्रेजी माध्यम पढाउने बहानामा चर्को शुल्क लिएको र साधारण सभा नगरी व्यवस्थापन समिति चयन भएको विषयबाट अभियान सुरु भएको हो । नवनिर्वाचित मेयर लगायत जनप्रतिनिधिलाई ध्यानाकर्षण गराउँदै अभियान अगाडी बढिरहेको छ । 

सोही विषयलाई लिएर विद्यालयको वातावरणमा खलल पुगेको भन्दै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले इटहरी उपमहानगरपालिकाका मेयरको ध्यान आकर्षण गराएका छन् । विद्यालयको अभिलेख माग्ने, हाजिरी र तलबी विवरण माग गर्ने कार्यले शैक्षिक वातावरण बिग्रिएको उनीहरूको आरोप छ । 

सुधार अभियान व्यक्ती हो की संस्था हो ? प्रस्ट नभएको भन्दै उनीहरूले सामाजिक सञ्जालमा समेत सामुदायिक विद्यालयको कु-प्रचार भएको बताएका छन् । यस्ता व्यक्तीलाई वार्तामा बोलाई समस्या समाधान गर्न उनीहरूले ध्यानाकर्षण गराएका छन् । 

जिल्ला प्रशासन कार्यालय र शिक्षा विकाश समितिलाई बोधार्थ दिइएको ध्यानाकर्षण पत्रमा विभिन्न सात वटा विद्यालयका प्रधानाध्यापकले हस्ताक्षर गरेका छन् । 

Dhyanakarsanpatra-1