धरान : गैरआवासीय नेपाली सङ्घ कतारको राष्ट्रिय तदर्थ समिति सुरेश भट्टको अध्यक्षतामा गठन भएको छ।
आइसिसी सदस्य सरिता चिलुवालको अध्यक्षतामा शुक्रवार वक्राको लक्की स्टार रेस्टुरेन्टमा आयोजित समाजसेवी तथा बुद्धिजीवीहरूको भेलाले भट्टको अध्यक्षता समिति गठन गरेको हो । भेलाबाट निर्वाचित तदर्थ समितिका अध्यक्ष भट्टले मौजुदा एनआरएनए कतारले गरेका गल्तीहरूलाई खबरदारी गर्दै त्यस्ता गलत कार्यलाई चिर्दै, आगामी दिनमा दोहामा रहेका नेपाली श्रमिकहरूको उत्थानको निमित्त यो संस्था सदैव अग्रसर र साझा संस्था बनेर लाग्ने बताए । नेपाली श्रमिकहरूलाई एकताबद्ध गर्दै श्रमिकहरूका निमित्त चेतनामूलक अब क्रमशः कार्यक्रमहरूको आयोजना गरिने समेत उनले जानकारी दिए ।
गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् कतारमा विकृतिले सीमा नाघेको भन्दै केही हप्ता देखी सामाजिक सञ्जालहरूमा व्यापक विरोध देखिएको थियो । पार्षद्का गुनासाहरूलाई समग्र रूपमा सम्बोधन गर्न नसकेको भन्दै धेरै पार्षद्हरूले आफ्ना असन्तुष्टि अझै पनि पोखेको देखिन्छ । यिनै पार्षद्हरूका गुनासाहरू र श्रमिकहरूको मुद्दालाई सम्बोधन गर्ने गरी चिलुवालको अध्यक्षतामा बसेको बैठकले गैरआवासीय नेपाली सङ्घको तदर्थ समिति गठन गरिएको हो ।
तदर्थ समितिको घोषणालाई  लिएर दोहामा रहेका नेपाली समाजका अगुवाहरूले  मिश्रित प्रतिक्रिया दिएका छन् । संस्थाका मानार्थ आइसिसी सदस्य आरसी पन्थले समिति गठन भएपछि बधाई तथा शुभकामना सन्देशहरू फोन तथा सामाजिक सञ्जाल मार्फत आइरहेको बताए। चाडै पत्रकार सम्मेलन गरी सम्पूर्ण योजनाहरू नेपाली समुदायमा जानकारी गराउने पन्थले जानकारी दिए। आइसिसी सल्लाहकार धर्म केसीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रमबाट गैरआवासीय नेपाली सङ्घ केन्द्रको निरन्तरता स्वरूप निम्न बमोजिमको तदर्थ समिति घोषणा भएको हो ।