सुनसरी : जनता क्याम्पसमा भएको कर्मचारी नियुक्ति प्रक्रिया टुङ्गो लाग्न नसक्दा दिनप्रतिदिन आन्दोलनले उग्र रूप लिँदै गएको छ । गत चैत २६ गते ६ जना कर्मचारी नियुक्त गर्ने विषयमा क्याम्पस पदाधिकारी र प्राध्यापकका आफन्त नियुक्त गर्न लागेको तथ्य बाहिर आएपछि विभिन्न छ विद्यार्थी सङ्गठनले विरोध गरेका थिए । तर नेपाली काङ्ग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घले भने नियुक्ति प्रक्रिया नियम सङ्गत भएको दाबी गरेको छ । 
क्याम्पस व्यवस्थापन समितिले समयमा निर्णय लिन नसक्दा विद्यार्थी सङ्गठन मात्रै हैन स्थानीयवासीले समेत विद्यार्थीको आन्दोलनलाई समर्थन जनाएका छन् । आज अनेरास्ववियु, अनेरास्ववियू, अनेरास्ववियु (क्रान्तिकारी) लगायत ६ विद्यार्थी सङ्गठनले क्याम्पस आसपासका स्थानीयलाई भेला गरी क्याम्पसमा भएका बेतिथि बारे धारणा राखेका थिए । 
अभिभावक तथा स्थानीयले क्याम्पसमा भएको चलखेलको बारे आफ्ना धारणा राख्दै विद्यार्थीले उठाएका प्रश्न जायज रहेको भन्दै समर्थन गरेका हुन् । उनीहरूले क्याम्पसका पदाधिकारीले आफ्ना मान्छे नियुक्त गर्न एकै दिन लिखित, मौखिक परीक्षा लिनु अत्यन्तै गैरजिम्मेवार रहेको टिप्पणी गरे । 
स्थानीय सन्तोष पराजुलीले शैक्षिक क्षेत्रमा राजनीतिक भागबण्डा पाउनु आफैमा दुःखलाग्दो विषय रहेको बताए । उनले कर्मचारी भर्नाका रूपमा आफन्त राख्ने कामको विरोध गर्दै विद्यार्थी सङ्गठनले गरेको आन्दोलनलाई समर्थन रहेको बताए । यस्तै सुस्मा तिम्सिनाले हरेक परीक्षा पारदर्शिता हुनु पर्ने बताइन् । विशिष्ट शिक्षण गर्ने संस्थामा फोहोरी राजनीतिले गर्दा शैक्षिक स्तर समेत खच्किदैं गएको बताइन् । उनले राजनीतिक रूपमा भागबण्डा पाउनु भन्दा सक्षम र योग्य व्यक्ति नियुक्त गर्नु पर्नेमा जोड दिइन् । 
कार्यक्रममा बोल्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस कमिटी अध्यक्ष उज्ज्वल सिग्देलले क्याम्पस भित्र चरम बेतिथि हुने गरेको तर्क राखे । उनले अहिले भएको कर्मचारी भर्ना एक उदाहरण मात्रै भएको भन्दै यस्ता प्रकारका कार्य विगतका दिनमा समेत हुने गरेको बताए । जब सम्म नियुक्त प्रक्रिया खारेज हुँदैन तब सम्म क्याम्पस प्रमुखको कार्यकक्षमा लागेको ताला नखोल्ने र आन्दोलन जारी राख्ने चेतावनी दिए । 
त्यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का क्याम्पस कमिटी अध्यक्ष अर्जुन पौडेलले क्याम्पसमा सामान्य कर्मचारी नियुक्ति देखि प्राध्यापक नियुक्तिमा राजनीतिक भागबण्डा लाग्नेगरेको आरोप लगाए । उनले पटक-पटक क्याम्पस व्यवस्थापन समितिलाई लिखित, मौखिक जानकारी गर्दा पनि कुनै सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिएको बताए । उनले कर्मचारी भर्ना खारेजीको माग गर्दै आन्दोलन जारी राख्ने बताए ।